न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी ईंक युएसएको अध्यक्षमा अलिशा देवी गुरुङ निर्वाचित भएका छन्। सोसाईटीको अक्टोबर ३ मा ज्याक्सन हाइट्समा भएको १३ औं अधिवेशनले अलिशा देवी गुरुङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लिल गुरुङ, उपाध्यक्षमा भक्त गुरुङ, महासचिवमा राजकुमार गुरुङ, सचिवमा सागर गुरुङ, कोषाध्यक्षमा ओम (विक्की) गुरुङ र सहकोषाध्यक्षमा ज्ञान गुरुङ चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुका करुणा (बबि) गुरुङ, पवित्रा गुरुङ, संगीता गुरुङ, पम्फा गुरुङ, देव गुरुङ, श्री गुरुङ, प्रधान गुरुङ, अजय गुरुङ, सन्त बहादुर गुरुङ, कमल गुरुङ चयन भएका छन् । अलिशा देवी अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिईन् ।
सोसाइटीले १३ औं अधिवेशन सम्पन्न गर्नको लागि ३ सदस्यीय निर्वाचन समिति बनाएको थियो । डा. रस कुमारी गुरुङ निर्वाचन प्रमुख र हर्कजंग गुरुङ र सिद्धार्थ गुरुङ निर्वाचन समितिका सदस्य रहेका थिए । निर्वाचन समितिका सदस्य हर्कजंग गुरुङले निर्वाचन प्रकृयाबारे जानकारी गराउँदै नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए । उनले संस्थाको पदमा रही सकेपछि संस्थाको निस्र्वार्थ रुपमा सेवा गर्न र जिम्मेवारी पूर्ण रुपमा भूमिका निभाउन सुझाएका थिए ।
निर्वाचन समितिका प्रमुख डा. रस कुमारी गुरुङले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । निर्वाचन समितिका सदस्य सिद्धार्थ गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गदैं सम्पूर्ण बुबा आमा, दिदीबहिनीहरु र छोराछोरीहरुलाई जोड्दै एकतावद्ध रुपमा अघि बढाउँदै अनुशासनमा रही काम गर्न सुझाव दिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष अलिशा गुरुङले समाजले विश्वास गरेर साथ दिइ अध्यक्ष पदको जिम्मेवारी सुम्पिएकोमा समाजको लागि का मगर्ने अवसर भएको बताए ।
आफ्नो लागि पद भन्दा ठुलो समाज भएको बताउँदै सबैको भावनाको सम्मान गर्दै समाजको हितको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नव निर्वाचित कार्यसमितिको सपथ ग्रहणसंगै निवर्तमान अध्यक्ष ओम गुरुङ र महासचिव मच्छेदेवी गुरुङले संस्थाको चाँवी, माइन्युट तथा बैकको डेबिट कार्ड नयाँ कार्यसमितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । त्यसअघि प्रमुख अतिथि क्याप्टेन लोक बहादुर गुरुङ, संस्थाका अध्यक्ष ओम बहादुर गुरुङ, संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर १३ औं अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए ।
अधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि क्याप्टेन लोक बहादुर गुरुङले अमेरिका जस्तो व्यस्त दैनिकी भएको देशमा पनि आफ्नो भाषा–संस्कृति र परम्पराको जगेर्ना गर्न संस्थाले खेलेको भूमिकाले आफुलाई गर्वको अनुभूति भएको बताए । सोसाइटीले गर्ने गतिविधिहरु गुरुङ समुदायका सबैका लागि भएकोले सम्पूर्ण सदस्यहरुले सहभागिता जनाउनुपर्ने उनको भनाई थियो । वर्तमान कार्यसमितिले तीन वर्षको अवधिमा गरेको कार्यक्रमहरु प्रशंसायोग्य भएको चर्चा गर्दै नयाँ आउने कार्यसमितिले अझ सक्रियतापूर्वक संस्थालाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष तुलसी गुरुङले अमेरिकामा गुरुङ समुदायको जनसंख्या बढ्दै गइरहेकोले गुरुङ सोसाइटीको महत्व अझै बढेको बताए । सोसाइटीले २५ औं वर्षको रजत महोत्सव अत्यन्त भव्य रुपमा मनाउन सफल भएको बताउदै आगमी दिनमा सम्पूर्ण समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
तमु सामुदायिक भवन निर्माण समिति संयोजक पूर्व अध्यक्ष, तथा सल्लाहकार मेख गुरुङले सामुदायिक भवन निर्माण घोषणा गरेपछि समुदायका सदस्यहरुबाट उत्सहाजनक रुपमा आर्थिक संकलन कार्य भइरहेकोले अन्य सदस्यहरुलाई पनि यो ऐतिहासिक अभियानमा जोडिन आग्रह गरे । नयाँ बन्ने कार्यसमितिको नेतृत्वमा यो अभियान अझ उत्सहाजनक रुपमा अघि बढ्ने संयोजक गुरुङले विश्वास व्यक्त गरे । उद्घाटन सत्रपछि शुरु भएको बन्दसत्रमा महासचिव मच्छे देवी गुरुङद्धारा प्रस्तुत संस्थाको तीनवर्ष अवधिको प्रगति प्रतिबेदन बन्दसत्रका सहभागीहरुले छलफल पश्चात पारित गरेका थिए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै महासचिव मच्छे देवी गुरुङले ३ बर्षमा संस्थाले गरेका काम तथा उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए । उनले संस्थाले गुरुङ भाषा कक्षा सञ्चालन सँगै तमु ल्होछार, माँगी त्ही, देउसी भैलो जस्ता कार्यक्रममार्फत संस्कृति र पहिचान संरक्षण गरेको, तमु स्टुडेन्ट क्लवमार्फत बालबालिका तथा युवा सहभागीतालाई जोड दिएको बताए । साथै मेन्टल हेल्थ तथा मानविय सेवा फुड डिष्ट्रिब्युसन तथा सामाजिक कार्यहरु गरेको बताउँदै महासचिव गुरुङले संस्थाको विकास र सदस्यहरुबीचको भाइचारा आपसी सद्भावका लागि समर पिकनिक, क्याम्पिङ, पार्क सफाई, भ्रमण तथा वार्षिक साधारणसभा जस्ता कार्यक्रमहरु गरेको जानकारी गराईन् । संस्थाको २५ औं रजत जयन्ती संस्थाका सदस्यहरुको आर्थिक सहयोगमा गरेको जानकारी दिंदै कार्यक्रममार्फत युवा भाइ बहिनीहरुको अनुभव सुनेर उनीहरुको क्षमता अभिवृद्धि, सामाजिकीकरण र शशक्तिकरणमा जोड दिएको उनको भनाइ छ ।
साथै गएको अगष्ट २६ मा नेपालको रसुवा भोटेकोशीमा गएको विनाशकारी बाढीपछि देशमा रहेका नेपालीको दुखमा साथ दिन सोसाइटीले १३ हजार २ सय ७६ डलर आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री रराहतकोषमा डाइरेक्ट डिपोजिट गरेको परराष्ट्रमन्त्री शिशिर खनाललाई भृट गरी जानकारी गराएको बताइन् । उनले आगामी कार्यदिशाका लागि १२ बुँदे प्रस्ताव समेत अघि सारेका छन् । गुरुङ भाषा कक्षा नियमति गर्नु पर्ने, महिला, युवा तथा जेष्ठ नागरिकको अर्थपूर्ण सहभागीता, संस्थाको आर्थिक तथा प्रशासनिक कार्यको पारदर्शिता थप सुदृढ गर्नु पर्ने, तमु भाषा संस्कृति र पहिचानलाई अमेरिकी समाजमा प्रवद्र्धन गर्नुपर्ने, सदस्यता विस्तार र नयाँ पुस्ताको सम्बन्ध थप मजबुत बनाउनुपर्ने, संस्थाको २५ बर्षे इतिहास र दस्तावेजलाई व्यवस्थित रुपमा अभिलेखिकरण गर्नु पर्ने, तमु धी घर निर्माण समितिलाई आर्थिक सहयोग संकलनमा सहयोग गर्नु पर्ने, अन्तराष्ट्रिय तमु काउन्सिलसँगसम्बन्ध बिस्तार गर्नु पर्ने र संस्थालाई रचनात्मक र प्रोडक्टिभ क्रियाकलापमा जोड दिनुपर्ने लगायतका प्रस्ताव अघि सारेका थिए । यस्तै कोषाध्यषको तर्फबाट अध्यक्ष ओम गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पनि छलफलपछि पारित गरेको थियो ।
कार्यक्रममा अध्यक्ष ओम गुरुङले आफ्नो कार्यकालमा अहोरात्र खटेर सहयोग पुर्याउने कार्यसमितिका सदस्यहरुलाई अप्रिसियन अवार्ड प्रदान गरेका थिए । महासचिव मच्छे देवी गुरुङ, उपाध्यक्ष लिल गुरुङ, कार्यसमिति सदस्यहरु भीम गुरुङ, भरत (बुद्धि ) गुरुङ, र हिरा गुरुङलाई अप्रिसियन अवार्डद्धारा सम्मान गरेका थिए । त्यस्तै आफ्नो ३ बर्षको कार्यकाल उपलब्धीमुलक रहेको बताउँदै अध्यक्ष ओम गुरुङले कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु कार्यकाल सफल बनाउन सहयोग गरेकामा धन्यवाद व्यक्त गरेका थिए । आमा टोलीका आमा दिदीबहिनीहरु र युवा भाइबहिनीहरुलाई तथा बुबा टोलीका सदस्यहरु र स्वयंसेवकहरुलाई पनि अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गरे । कार्यक्रममा २०२६ सालमा ग्य्राजुयट भएका बालकालिकाहरुलाई प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।





