कभर स्टोरी

गुरुङ समुदायको विकास र पहिचानसँगै परम्परा जोगाउन तमू सञ्चारकर्मीले गरे सिक्लेसमा बहस

सिक्लेस (कास्की) । हिमालको काखमा रहेको सिक्लेस केवल प्राकृतिक सुन्दरताले भरिएको गाउँ मात्र होइन, गुरूङ समुदायको मौलिक संस्कृति, परम्परा, सामुदायिक अभ्यास र पहिचान बोकेको ऐतिहासिक थलो पनि हो। पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको सिक्लेसमा विकाससँगै आफ्नो मौलिक पहिचान र संस्कृति जोगाउने विषयमा पनि बहस सुरु भएको छ।

तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालले आयोजना गरेको ‘सिक्लेस संवाद’ मा सहभागी वक्ताहरूले सिक्लेसको विकासलाई स्थानीय पहिचान, परम्परा, भाषा, संस्कृति र समुदायको अधिकारसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रतिनिधिसभाका पूर्वसदस्य मनबहादुर गुरूङले सिक्लेस अन्य ठाउँभन्दा फरक सामाजिक रीति, थिति र परम्परामा हुर्किएको गाउँ भएको बताए। करिब ९० प्रतिशत आदिवासी जनजाति समुदायको बसोबास रहेको सिक्लेसको आफ्नै सामाजिक अभ्यास र परम्परालाई राज्यको कानुन तथा नीतिले पनि सम्बोधन गर्नुपर्ने उनले बताए।

देशको औपचारिक कानुन आउनुभन्दा पहिलेदेखि नै समुदायमा आफ्नै सामाजिक नियम रहेको उदाहरण दिँदै उनले भने, ‘परम्परागत न्याय प्रणालीमा सम्बन्धविच्छेदजस्ता विषयसमेत सामुदायिक निर्णयबाट टुङ्ग्याउने चलन छ।’ आधुनिक प्रविधि र बदलिँदो समयसँगै गुरूङ समुदायको पहिचानलाई पनि नयाँ पुस्तासम्म जोड्न आवश्यक रहेको उनको भनाइ थियो।

राज्यसत्तामा पहुँच नहुँदा समुदायका धेरै आवश्यकता सम्बोधन हुन नसकेको उनले बताए। सत्ता र स्रोतमा पहुँच विस्तार भए पनि त्यसलाई स्थानीय विकासमा प्रभावकारीरूपमा प्रयोग गर्न अझै चुनौती रहेको उनको भनाइ थियो।

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वेदबहादुर तमू (श्याम)ले संविधानले परिकल्पना गरेको अधिकार र पहिचान व्यवहारमा कार्यान्वयन हुन बाँकी रहेको बताए। भूगोललाई समेत स्थानीय समुदायको इतिहास र पहिचानसँग जोडेर हेर्नुपर्ने उनले बताए।

गुरूङ समुदायको इतिहास र संस्कृतिमाथि थप खोज तथा अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ। विशेषगरी घले राजाको इतिहास, क्व्होलाको सभ्यता र गुरूङ समुदायको सांस्कृतिक विकासका विषयमा पर्याप्त अनुसन्धान हुन नसकेको उनको बुझाइ छ। गुरूङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्नसमेत लिपि, साझा निर्णय र संस्थागत पहल आवश्यक रहेको उनले बताए।

मादी गाउँपालिका वडा नं.१ का अध्यक्ष देवीजङ्ग गुरूङले स्थानीय सरकारलाई आवश्यक आर्थिक स्रोत र साधन उपलब्ध नहुँदा विपद् तथा आपत्कालीन अवस्थामा समेत समस्या हुने गरेको बताए। जनतासँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय तह भए पनि राहत तथा अन्य कामका लागि माथिल्लो सरकारको भर पर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

भौगोलिक कठिनाइले पनि सिक्लेसलगायत मादी गाउँपालिकाका नागरिकलाई समस्या पारिरहेको उनले बताए। आफ्नै गाउँपालिका पुग्नसमेत पोखरा हुँदै जानुपर्ने अवस्थाले स्थानीय सरकार र नागरिकबीचको दूरीसमेत बढाएको उनको भनाइ छ। यसले गुरूङ समुदायको संस्कार, संस्कृति र रीतिस्थितिमा पनि प्रत्यक्ष प्रभाव पार्दै लगेको उनको भनाइ छ।

संरक्षणविद् डा हुमबहादुर गुरूङले सिक्लेसको मौलिकता यहाँको सामुदायिक जीवन र प्रकृतिसँगको सम्बन्धमा रहेको बताए। वनजङ्गल संरक्षणदेखि दैनिक जीवनका कतिपय कामसमेत सामुदायिक निर्णयका आधारमा सञ्चालन हुने परम्परा सिक्लेसको महत्त्वपूर्ण विशेषता भएको उनले बताए। उनका अनुसार सिक्लेसको पहिचानलाई गुरूङ, नेपाली र अंग्रेजी भाषामा प्रचार सामग्री तयार गरी बाहिरी संसारसम्म पुर्‍याउन आवश्यक छ।

खर, काठ, टिन हुँदै अहिले कङ्क्रिटका घर निर्माण हुन थालेकाले विकास गर्दा गाउँको मौलिक स्वरूप नै हराउने अवस्था आउनबाट बचाउनु पर्ने उनले बताए। सिक्लेसमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको परिप्रेक्षमा पर्यटकलाई केही समय थप बस्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको सुझाव छ।

मानवशास्त्री डा पोलबहादुर गुरूङले गुरूङ समुदायका संस्कार, संस्कृति, परम्परा, कर्मकाण्ड र भाषा धेरै ठाउँमा हराउँदै गएको बताए। याङ्जाकोट, पार्जे, घ्याम्राङ, ताङतिङ हुँदै सिक्लेससम्मका गुरूङ बस्तीले आफ्नो पहिचान र सांस्कृतिक परम्परालाई अझै जीवन्त राख्न सफल भएको बताउँदै अन्य गुरूङ गाउँहरुमा पनि यहाँबाट सिको गराउन आवश्यक रहेको उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमुख रविन कडरियाले प्राकृतिक स्रोत संरक्षणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताए। संरक्षण क्षेत्रबाट स्थानीय समुदायले समेत लाभ लिन सक्ने गरी पर्यटन र जीविकोपार्जनका कार्यक्रमलाई जोड्नुपर्ने उनले बताए।

उनका अनुसार सिक्लेस क्षेत्रमा वर्षमा ५० हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। त्यसमा पनि भारतीय पर्यटक धेरै छन्। पर्यटनबाट स्थानीय समुदायमा आम्दानी बढाउन अबका दिनमा संरक्षणसँगै व्यवस्थित व्यवसायीकरणतर्फ अघि बढ्नुपर्ने उनको सुझाव छ। ‘हिजोका दिनमा गाउँ छाड्नेहरुको लर्को लागेको थियो। अहिले गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ।

त्यसकारण अबका केही वर्षपछि यहाँ बाँझो भएको बारीमा फेरि उब्जनी हुनेछ,’ उनले विश्वास दिलाउँदै भने, ‘यहाँ पर्यटकको सङ्ख्या बढ्दै जाँदा उनीहरुले यहाँको रैथाने संस्कृति खोज्छ, यहाँको स्थानीय उत्पादन खोज्छ। त्यसको लागि पनि स्थानीयले पुरानो लयमा फर्किन आवश्यक छ।’

सम्वादकै क्रममा सिक्लेस पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरूङले पछिल्लो समय सिक्लेस आउन आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रहेको बताए। भावी दिनसम्म यसलाई जोगाइराख्नको लागि पनि स्थानीयले सक्दो प्रयास गर्नुपर्ने उनले बताए। स्थानीयको प्रयासमा व्यवसायी, सरकारी तथा गैरसरकारी निकायको सहयोग पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

पर्यटनसँगै समुदायको सामाजिक भूमिकासमेत सिक्लेसको अर्को महत्त्वपूर्ण पक्ष हो। सिक्लेस आमा टोलीकी अध्यक्ष सन्तोषी तमूस्योका अनुसार गाउँका छ वटा टोलमा छ वटा आमा समूह सक्रिय छन्। ती समूहबाट छनोट भएर मूल आमा टोलीको नेतृत्व चयन हुने गरेको छ।

त्यही टोलीको नेतृत्वमा आमा समूहले गाउँमा धारा, चौतारी, प्रतीक्षालय तथा मन्दिर निर्माणदेखि गाउँ सरसफाइसम्मका काम गर्दै आएको उनले बताइन्। सिक्लेसलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले यही वर्ष भदौ १४ गतेदेखि प्रत्येक महिनामा दुई पटक फोहोरमैला व्यवस्थापनको अभियान सञ्चालन भइरहेको उनले बताइन्।

पर्यटन व्यवसायी तथा गुरूङ हेरिटेज ट्रेल (गुरूङ सम्पदा मार्ग) अभियानका अभियन्ता बोबरजङ्ग तमूले सिक्लेसलाई गुरूङ सभ्यता र सम्पदासँग जोडेर पर्यटनको नयाँ आधार बनाउनुपर्ने बताए। उनका अनुसार क्व्होलादेखि विकसित भएको गुरूङ सभ्यताको एउटा महत्त्वपूर्ण स्थान नै सिक्लेस हो।

सिक्लेस, ताङतिङ, पसगाउँ, घनपोखरा, भुजुङलगायतका गुरूङ बस्तीलाई जोडेर गुरूङ सम्पदा मार्ग विकास गर्ने अभियान अघि बढिरहेको उनले बताए। यसलाई आउँदो अङ्ग्रेजी नयाँ वर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको उनले दाबी गरे।

प्राकृतिक सुन्दरतासँगै गुरूङ समुदायको इतिहास, संस्कृति र पहिचानलाई जोडेर पर्यटन विकास गर्न सके यस क्षेत्रको आर्थिक सम्भावना थप विस्तार गर्न सकिने उनले बताए।

पर्यटक बढिरहँदा सडक सञ्जालसहित भौतिक संरचना विस्तार भइरहेका छन्। आधुनिक समयको विकाससँगै परम्परागत घरहरू कङ्क्रिटका संरचनामा परिवर्तन भइरहेका छन्। आधुनिक विकास र पर्यटन प्रवर्द्वनबाट सिक्लेसको मौलिक पहिचान हराउने जोखिम पनि बढिरहेको हुँदा यसप्रति सचेत हुन आवश्यक रहेको वक्ताहरुको भनाइ छ।