ब्यानर

गुरुङ सञ्चारकर्मी संघको छैटौं महाधिवेशन भोलीदेखि सिक्लेसमा सुरु हुने, तयारी पूरा

पोखरा । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको छैटौं राष्ट्रिय महाधिवेशन कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा भोलीदेखि सुरु हुने भएको छ । असोज २ गतेदेखि ४ गतेसम्म तीन दिन सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

महाधिवेशनको क्रममा देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका करिब एक सय जना पत्रकार एवं सञ्चारकर्मीहरु सिक्लेस पुग्नेछन् । उनीहरुको लागि खाने, बस्ने लगायत सम्पूर्ण तयारी पूरा भएको तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको महासचिव चित्र सोल्टी गुरुङले बताए । उनका अनुसार सिंगो गुरुङ समुदायको मात्र बसोबास भएको गाउँ सिक्लेसमा महाधिवेशन भैरहदा गुरुङ पत्रकार सञ्चारकर्मीहरुले आफ्नो समुदायको विषयमा जानकारी लिन सकिने साथै त्यसलाई आफ्नो सञ्चारमाध्यमका लागि समाचार सामाग्री उत्पादन र प्रकाशन गरी सिक्लेस गाउँको प्रचारमा थप टेवा पुर्‍याउन सकिने अपेक्षा लिएको छ । 

महाधिवेशनको समुद्घाटन पूर्व संघीयसांसद मन बहादुर गुरुङले गर्ने तय भएको तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको अध्यक्ष लाला गुरुङले जानकारी दिए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि मादी गाउँपालिका, मादी गाउँपालिका वडा नं. १, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), अन्तराष्ट्रिय तमू परिषद्, तमू धीं नेपाल, गुरुङ सेवा समिति दिल्ली, चिउली पाचे तमू समाज, सिक्लेस पार्चे कल्याणकोष, तमू समाज युके, तमू समाज इजरायल, तमू धीं जापान, मिलन फाउण्डेशन लगायत सिक्लेसका स्थानीय संघसंस्था व्यक्ति विशेष र देश विदेशमा रहेका गुरुङ समुदायका संघसंस्था तथा व्यक्ति विशेषहरुले समेत संस्थागत तथा व्यक्तिगत सहयोग गरेका छन् ।

संघको महाधिवेशनको अवसरमा सिक्लेसको पर्यटन प्रवर्दनमा गुरुङ सञ्चारकर्मीको भुमिका सम्बन्धि सिक्लेस–संवाद कार्यक्रम समेत राखिएको अध्यक्ष गुरुङले बताए ।