गुरुङ विशेष

प्रदेश सांसद एवम् चलचित्र निर्माता बेदबहादुर गुरुङ श्यामको परिकल्पना सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत

पोखरा । गण्डकी प्रदेशका सांसद एवम् चलचित्र निर्माता बेदबहादुर गुरुङ श्यामको परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘बुकी फूल’को कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शुभमुर्हत गरिएको छ ।

गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमुर्हत कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री संस्कृति गुरुङ, कलाकार पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ श्यामलगायतका कलाकारको अभिनय रहनेछ ।

शुभमुर्हत कार्यक्रममा बोल्दै चलचित्र निर्देशक नवीन सुब्बाले ‘बुकी फूल’ ऐतिहासिक चलचित्र बन्न सक्ने बताए । गुरुङ समुदायभित्रको ऐतिहासिक दस्तावेजका रूपमा चलचित्र स्थापित हुन सक्ने उनको भनाइ थियो ।

कथाअनुसार मेकिङमा ध्यान दिन सके चलचित्र अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको सुब्बाले बताए । नेपाली चलचित्र क्षेत्रमा विस्तारै सुधारको क्रम आइरहेको उल्लेख गर्दै उनले विषयवस्तु र प्रस्तुतिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

चलचित्रका परिकल्पनाकार एवम् निर्माता बेदबहादुर गुरुङ श्यामले ‘बुकी फूल’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । आफ्ना बाउबाजेबाट सुन्दै आएको कथाव्यथालाई चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ थियो । ‘बुकी फूल’को कथा आफ्नै परिकल्पनामा तयार भएको बताउँदै उनले गुरुङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई चलचित्रमा समेट्ने प्रयास गरिएको बताए ।

निर्देशक ओमप्रकाश गुरुङले कथाको ऐतिहासिक परिवेशलाई ध्यानमा राख्दै चलचित्र निर्माण गरिने बताए । कथाअनुसार निर्देशन र प्रस्तुतिलाई महत्व दिइने उनको भनाइ थियो । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले सिक्लेसमा चलचित्र छायाँकन हुनु यस क्षेत्रको प्रचारप्रसारका लागि महत्वपूर्ण हुने बताए । सिक्लेस गाउँ र आसपासका स्थानलाई चलचित्रमार्फत आम दर्शकले हेर्न पाउने उनको भनाइ थियो ।

चलचित्रलाई सुसन प्रजापतिले छायाँकन गर्नेछन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् । चलचित्रको छायाँकन ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य निर्माण टिमले लिएको छ ।
गुरुङ समुदायको सांस्कृतिक परम्पराअनुसार शुभ कार्यमा गरिने पूजाविधि सम्पन्न गरी चलचित्रको शुभमुर्हत गरिएको हो । शुभमुर्हत कार्यक्रममा स्थानीय गाउँले, सामाजिक, सांस्कृतिक तथा राजनीतिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सिक्लेसको प्राकृतिक सौन्दर्य, गुरुङ समुदायको सांस्कृतिक जीवन र ऐतिहासिक कथावस्तुलाई पर्दामा उतार्ने तयारीसँगै ‘बुकी फूल’प्रति स्थानीयवासी तथा चलचित्रप्रेमीको चासो बढेको छ ।