लन्डन । नेपालको विनाशकारी बाढीपीडितको सहयोगार्थ तमु धीं यूकेले आयोजना गरेको १०० किलोमिटर ट्रेल वाक टोलीले सफलतापूर्वक पूरा गरेको छ । टोलीले कुनै पनि सदस्य घाइते नभई २२ घण्टा ५४ मिनेटमा १०० किलोमिटर दूरी पार गरेको हो ।
ट्रेल वाक टोलीमा लिडर सान्ता कुमार गुरुङ, क्याप्टेन लक्ष्य गुरुङ, तर्कजंग गुरुङ, शारदा गुरुङ र उपाध्यक्ष कमल गुरुङ सहभागी थिए । यस्तै, सपोर्ट क्रुमा प्रकाश गुरुङ, उमा गुरुङ, रोशनी गुरुङ र रोशन गुरुङ रहेका थिए । अन्तिम चेक पोइन्ट–८ देखि ब्राइटन रेसकोर्सको फिनिस लाइनसम्म सूर्य गुरुङले टोलीलाई विशेष सहयोग गरेका थिए ।
ट्रेल वाक सुरु हुनुअघि शनिबार बिहान सुरुवाती स्थलमा पुगेका तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले चेक पोइन्ट–२ सम्म तथा चेक पोइन्ट–८ देखि फिनिस लाइनसम्म सपोर्ट क्रुको भूमिका निर्वाह गरेका थिए । सपोर्ट क्रुले धावकहरूलाई निरन्तर हौसला दिँदै खाना र पानीको व्यवस्थासमेत गरेको थियो ।
चेक पोइन्ट–५ मा सपोर्ट क्रुसँग जोडिएका महासचिव डा. विशाल गुरुङ आफ्नै ‘पिपल ग्रुप’सँग रिले पूरा गरेपछि टोलीलाई हौसला र सहयोग गर्न चेक पोइन्ट–९ देखि फिनिस लाइनसम्म टोलीसँगै रहेका थिए ।
तमु धीं यूकेले नेपाली मेलाबाट बचत भएको रकम तथा विभिन्न सहयोगी संघसंस्था, आफ्ना इकाइ र सदस्यहरूको सहयोगसहित नेपाल सरकारलाई रु. १ करोड १ हजार प्रदान गर्ने निर्णय गरेको थियो । सोही अभियानअन्तर्गत बाढीपीडितको सहयोगार्थ ट्रेल वाकमार्फत पनि रकम सङ्कलन गरिएको हो ।
उपाध्यक्ष कमल गुरुङका अनुसार ‘जस्ट गिभिङ’मार्फत हालसम्म पाँच हजार पाउन्डभन्दा बढी रकम सङ्कलन भइसकेको छ । उक्त सहयोग अभियान आगामी सेप्टेम्बर १५, २०२६ सम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
आइतबार बिहान करिब ५ः२० बजे ट्रेल वाक सम्पन्न भएपछि अध्यक्ष जुमकाजी गुरुङले सहभागी सम्पूर्ण टोली तथा सपोर्ट क्रुलाई धन्यवाद दिँदै खादा लगाएर सम्मान र बधाई दिनुभयो । उहाँले ट्रेल वाक सफल बनाउन सहयोग गर्ने सम्पूर्ण आयोजक तथा सहयोगी टोलीलाई तमु धीं यूकेको तर्फबाट धन्यवादसमेत व्यक्त गर्नुभयो ।





