ब्यानर

तमू सञ्चारकर्मीको कास्की अध्यक्षमा पुनः युग, तमू पत्रकारिता पुरस्कार शान्ति र पञ्चसुब्बालाई

पोखरा । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्कीले प्रदान गर्ने तमू पत्रकारिता पुरस्कार–२०८३ बाट अग्रज पत्रकार शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट पञ्चसुब्बा गुरुङ ‘दिल’ सम्मानित भएका छन् ।

तमू सञ्चारकर्मी संघ कास्कीको सातौँ साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा दुवै पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ ‘लाला’, पुरस्कार प्रतिभा छनोट समितिका संयोजक हुमबहादुर गुरुङ तथा पुरस्कारदाता संस्थाका प्रतिनिधिले उनीहरूलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

समाजसेवी मिना गुरुङद्वारा स्थापित तमू पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाई नगद २० हजार रुपैयाँ, क्रमु (पछ्यौरा) र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, मिलन फाउन्डेसन नेपालद्वारा स्थापित मिलन पत्रकारिता पुरस्कारबाट पञ्चसुब्बा गुरुङ ‘दिल’लाई नगद २० हजार रुपैयाँ, क्रेगी (फेटा) र सम्मानपत्र प्रदान गरिएको हो ।

पुरस्कारका लागि संघका सल्लाहकार हुमबहादुर गुरुङको संयोजकत्वमा राजबहादुर गुरुङ र संघका अध्यक्ष युगबहादुर गुरुङ सदस्य रहेको प्रतिभा छनोट समितिले दुई पत्रकारको नाम सिफारिस गरेको थियो ।

यसैबीच, संघको चौथो अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि युगबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शिला गुरुङ, सचिवमा पञ्चसुब्बा गुरुङ ‘दिल’, सहसचिवमा हुमबहादुर गुरुङ र कोषाध्यक्षमा तिर्सनालक्ष्मी गुरुङ चयन भएका छन् ।

यस्तै, सदस्यमा पदम गुरुङ, रक्ष गुरुङ र आकाश गुरुङ सर्वसम्मत चयन भएका छन् ।