पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा तमु धिं नेपालले ३ लाख रुपैयाँ सहयोग गरेको छ। मोदीखोलामा आएको बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका ८, ९, १० र ११ जोड्ने सडक बिरेठाँटीदेखि नै अवरुद्ध भएपछि यातायात, स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति तथा पर्यटन व्यवसाय प्रभावित बनेको छ। प्रभावित क्षेत्रमा तत्काल राहत तथा सडक सञ्चालनका लागि गाउँपालिकाले सहयोगको आह्वान गरेपछि तमु धिं नेपालले आफ्नो आकस्मिक राहत कोषबाट रकम प्रदान गरेको हो।
आइतबार आयोजित कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङसहितका पदाधिकारीले गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं ९ का अध्यक्ष रमेश गुरुङ, वडा नं ११ का अध्यक्ष हिमबहादुर गुरुङ र कार्यपालिका सदस्य भुपाल घर्तीलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा अध्यक्ष गुरुङले बाढीपहिरोबाट घर तथा होटलमा क्षति पुग्नुका साथै चारवटै वडाको जनजीवन प्रभावित भएकाले यातायात सञ्चालन र आवश्यक राहतका लागि सहयोग गरिएको बताए। प्रभावित क्षेत्र तमु समुदायका ऐतिहासिक बस्तीसमेत भएकाले विपद्मा सहयोगको सुरुवात गरिएको उनको भनाइ थियो।
सहयोग ग्रहण गर्दै गाउँपालिका अध्यक्ष केसीले विपद् व्यवस्थापनका लागि तमु धिं नेपालले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले बाढीपहिरोबाट अवरुद्ध सडक सञ्चालनका लागि स्थानीय तहले विभिन्न निकायसँग समन्वय गरिरहेको र दशैँभित्र यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको बताए।
उनले सडक निर्माण तथा पुनःस्थापनाका लागि नेपाली सेनालगायत विभिन्न निकायबाट सहयोग भइरहेको जानकारी दिए। गाउँपालिकाले प्राप्त हुने सहयोग सडक निर्माण तथा पुनःस्थापनामै खर्च गर्ने जनाएको छ। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले सञ्चालन गरेका थिए।




