चितवन । तमू (गुरूङ) भाषा, धर्म, संस्कार, संस्कृति, परम्पराको संरक्षण र नयाँ पुस्तामा पुस्तान्तरणका लागि समुदाय, सञ्चारकर्मी तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा सरोकारवालाहरूले आवाज उठाएका छन् ।
तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल, चितवनको आयोजनामा इच्छाकामना गाउँपालिका–२, स्थित घुर्केश सामुदायिक होमस्टेको सभाहलमा सम्पन्न ‘तमू (गुरूङ) भाषा तथा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम–२०८३’ मा सहभागीहरूले मौलिक पहिचानसहित तमू समुदायमा प्रचलित चालचलन तथा रीतिस्थिति हराउँदै गएपछि यसको संरक्षणका लागि समुदाय, सञ्चारकर्मी र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक भएको बताएका हुन् ।
२०८३ साउन ३१ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन भएको कार्यक्रममा तमू सञ्चारकर्मी तथा स्थानीय गरी करिब ५५ जनाको उपस्थिति थियो । इच्छाकामना गाउँपालिको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा गुरूङ संस्कृतिकी अध्येता एवम् तमू (गुरूङ) साहित्यिक मञ्च नेपालकी संस्थापक अध्यक्ष गौरी गुरूङ र तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपालका पूर्वअध्यक्ष डण्ड गुरूङले सहजीकरण गरेका थिए ।
तमू (गुरूङ) भाषाको महत्त्व, वर्तमान अवस्था, भाषा संरक्षण तथा पुस्तान्तरणको आवश्यकता, समुदायको धर्म, संस्कार, संस्कृति, परम्परा तथा सामाजिक जीवनका विविध पक्षबारे जानकारीमूलक प्रस्तुति तथा अन्तरक्रिया गरिएको कार्यक्रममा सहजकर्ताहरूले तमू समुदायको मौलिक पहिचानसँग जोडिएको भाषा तथा संस्कृतिको संरक्षणका लागि परिवारदेखि समुदाय र संस्थागत तहसम्म निरन्तर पहल आवश्यक रहेको बताएका थिए ।
आधुनिकता, बदलिँदो सामाजिक परिवेश, बसाइँसराइ तथा नयाँ पुस्तामा मातृभाषाको प्रयोगमा आएको कमिका कारण भाषा र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएको विषयमा समेत छलफल भएको थियो । अन्तरक्रियाका क्रममा तमू समुदायले परम्परागतरूपमा मनाउँदै आएका विभिन्न चाडपर्व, तिनको सांस्कृतिक तथा सामाजिक मह¤व र पछिल्लो समय ती पर्व तथा सांस्कृतिक अभ्यासमा आएको परिवर्तनका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रमलाई सहभागीमूलक बनाउन सहभागीहरूलाई आफ्ना जिज्ञासा, प्रश्न, अनुभव तथा धारणा राख्ने अवसर प्रदान गरिएको थियो । विशेषगरी नयाँ पुस्तामा मातृभाषाको प्रयोग कसरी बढाउने, घरपरिवारबाटै भाषा सिकाउने वातावरण कसरी निर्माण गर्ने, मौलिक संस्कृतिको अभिलेखीकरण कसरी गर्ने तथा सञ्चारमाध्यममार्फत तमू भाषा र संस्कृतिको प्रचारप्रसार कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सहभागीहरूबीच विचार आदानप्रदान भएको थियो ।
सहभागीहरूले तमू भाषा तथा संस्कृति संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए । सञ्चारमाध्यमले तमू भाषा, संस्कार, संस्कृति, परम्परा, लोककथा, गीत, नृत्य तथा ऐतिहासिक र सांस्कृतिक पक्षको अभिलेखीकरण, प्रचारप्रसार र नयाँ पुस्तासम्म पुर्याउन थप भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।
त्यस्तै, भाषा तथा संस्कृति संरक्षणका लागि स्थानीय तह, समुदाय, संस्कृतिकर्मी, भाषा अध्येता, सञ्चारकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो । कार्यक्रमबाट तमू (गुरूङ) भाषा तथा संस्कृतिको महत्त्वबारे सहभागीहरूमा थप ज्ञान तथा चेतना अभिवृद्धि हुनुका साथै भाषा संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकताबारे साझा धारणा निर्माण गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।
तमू समुदायको धर्म, संस्कार, संस्कृति तथा परम्परागत चाडपर्वका विभिन्न पक्षबारे जानकारी आदानप्रदान हुनुका साथै सहजकर्ता र सहभागीबीच प्रत्यक्ष प्रश्नोत्तर तथा विचार आदानप्रदान भएको थियो । कार्यक्रमले स्थानीय समुदायलाई आफ्नो मौलिक भाषा तथा संस्कृति संरक्षणप्रति थप सचेत बनाउनसमेत सहयोग पुगेको आयोजक संस्था तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल चितवनका अध्यक्ष तुलमान गुरूङले बताए ।
कार्यक्रममा सहभागीहरूले भाषा तथा संस्कृति संरक्षणका लागि केवल औपचारिक कार्यक्रम मात्र नभई घरपरिवार र समुदायको दैनिक जीवनमै मातृभाषा तथा मौलिक संस्कृतिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । बदलिँदो सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण भाषा, धर्म, संस्कार, संस्कृति र परम्परागत अभ्यासमा परिवर्तन आइरहेको अवस्थामा यसको संरक्षणका लागि निरन्तर संवाद, अध्ययन, अनुसन्धान, अभिलेखीकरण र सामूहिक प्रयास आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल, चितवनले आगामी दिनमा पनि तमू भाषा तथा संस्कृति संरक्षण, संवद्र्धन र पुस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।





