पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका प्रथम महिला अध्यक्ष पुनम गुरुङले आफ्नो जन्मथलोमा क्यान्सर सचेतना एवम् निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै दिदीबहिनी एकता फाउण्डेसनको सुरुवात गरेकी छन् ।
सामाजिक सेवाको पवित्र उद्देश्यका साथ पुनमले फाउण्डेसनको शुभारम्भ गरेका हुन् । आफ्नै जन्मथलो पोखरा–१३ विजयपुर पोखरीगाउँबाट फाउण्डेसनको सुरुवात गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
व्यक्तिगत रुपमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकी पुनमले आफ्नो बुबा कर्णेल स्वर्गीय मणीन्द्र गुरुङको प्रेरणाबाट फाउण्डेसनको स्थापना गरेको जानकारी दिए । व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा सहयोग गर्नका लागि आफूलाई बुवाले भन्दै आउनुभएकाले फाउण्डेसनको स्थापना गरी सेवा प्रारम्भ गरिएको उनले बताए ।
पुनमको बुवाको गत वर्ष क्यान्सरका कारण निधन भएको थियो । क्यान्सरको पहिचान समयमै गर्न सकयो भने बिरामी निको हुने भएकाले आफूले क्यान्सर सचेतनाका साथै स्वास्थ्य शिविर गरेको उनको भनाइ छ ।
शनिवार आयोजित शिविरमा २१० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अधिकांश महिला स्वास्थ्य परीक्षणका लागि आएका थिए । उनीहरुको भिडियो एक्सरे मार्फत क्यान्सर परीक्षण गरिनुका साथै सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।
चरक मेमोरियल अस्पताल नागढुंगा पोखराकाट वरिष्ठ कन्सल्यान्ट रेडियोलोजिष्ट डा. ओमकुमार श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीमा डा. विष्णु पालिखे, डा. सुरज अर्याल, डा. सरिना पालिखे, डा. निकिता कोइराला लगायत थिए ।
आर्वा, मौजा, विजयपुर पोखरी, लगायत स्थानबाट स्थानीय बासिनाहरु स्वास्थ्य परीक्षणका लागि आएका थिए ।
कार्यक्रमको सुरुवातमा फाउण्डेसनका अध्यक्ष पुनम, पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल, तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, मोडलहरु डली गुरुङ, विशाल गुरुङ, आमा समूह अध्यक्ष धनकुमारी गुरुङ लगायतले सामूहिक रिवन काटेर फाउण्डेसनको उद्घाटन गरे । त्यसपछि फाउण्डेसनका अध्यक्ष पुनमले डा ओम श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर शिविर सुरुवात गरिएको थियो ।
झमझम पानी परिरहे पनि स्थानीय बासिन्दाहरु भने उत्सुकताका साथ स्वास्थ्य परीक्षणका लागि लामवद्ध थिए ।
कार्यक्रमको अन्त्यमा, चिकित्सकहरु, उपस्थित पाहुना लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने मौजा विजयपुर समाज युके, चरक मेमोरियल हस्पिटल पोखरा, विद्यालय टीम, आमा समूह लगायतलाई धन्यवाद ज्ञापन गरिएको थियो ।











