सिड्नी, अष्ट्रेलिया। अष्ट्रेलियामा रहेका तमु (गुरुङ) समुदायको साझा सामाजिक तथा सांस्कृतिक संस्था तमु समाज सिड्नीको अध्यक्षमा डा. समिता गुरुङ सर्वसम्मत रूपमा चयन भएकी छन्। संस्थाको हालै सम्पन्न साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै आगामी दुई वर्षका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–बेझाङसँग वैवाहिक सम्बन्ध जोडिएकी डा. गुरुङको जन्म रिभानमा भएको हो। पोखरा महानगरपालिका–८, सिमलचौरमा बसोबास गरेपछि उनी सन् २००९ देखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी छन्। हाल उनी श्रीमान् र एक छोरीसँग करिब १७ वर्षदेखि सिड्नीमा स्थायी रूपमा बसोबास गर्दै आएकी छन्।
डा. गुरुङ अष्ट्रेलियास्थित नेपाली तथा तमु समुदायका विभिन्न सामाजिक संस्थामा सक्रिय रहँदै आएकी छन्। विशेषगरी Tamu Samaj Sydney र NRN Australia मार्फत सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा उनको उल्लेखनीय सहभागिता रहेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र गुरुङ र जीवन गुरुङ, महासचिवमा उषा गुरुङ, सचिवमा बरु गुरुङ तथा कोषाध्यक्षमा निराजन गुरुङ चयन भएका छन्।
त्यसैगरी सह–कोषाध्यक्षमा रोशन घले, कल्याण संयोजकमा पुष्पा गुरुङ, महिला संयोजकमा ज्योति गुरुङ, सह–महिला संयोजकमा सुनिता गुरुङ, सांस्कृतिक सचिवमा गणेश गुरुङ, सह–सांस्कृतिक सचिवमा प्रीति गुरुङ, खेलकुद सचिवमा किरण गुरुङ, सह–खेलकुद सचिवमा अर्जुन घले तथा सूचना प्रविधि (आईटी) सचिवमा विक्रम गुरुङ चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा सुरज गुरुङ, लक्ष्मी गुरुङ, सञ्जित गुरुङ, लिल गुरुङ र इन्दिरा गुरुङ रहेका छन्।
सन् १९९६ मा स्थापना भएको तमु समाज सिड्नी अष्ट्रेलियामा रहेका तमु (गुरुङ) समुदायको भाषा, कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा सक्रिय संस्थाका रूपमा परिचित छ। संस्थाले हरेक वर्ष तमु ल्होसार भव्य रूपमा आयोजना गर्नुका साथै सामाजिक, सांस्कृतिक, खेलकुद तथा परोपकारी कार्यक्रम सञ्चालन गर्दै समुदायलाई एकताबद्ध बनाउने कार्य गर्दै आएको छ। साथै अष्ट्रेलियामा हुर्कँदै गरेको नयाँ पुस्तालाई तमु भाषा, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ।
नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षको कार्यकालमा संस्थागत सुशासनलाई थप सुदृढ बनाउँदै तमु समुदायको साझा हित, भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै समुदायबीच आपसी एकता, सहकार्य तथा भावी पुस्तामा सांस्कृतिक हस्तान्तरणलाई उच्च प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरेको छ।





