काठमाडौं । खोटाङ गुरुङ ९तमू० सेवा समाज काठमाडौंको १७औँ वार्षिक साधारण सभा तथा ७औँ ऐतिहासिक महाधिवेशनबाट सामाजिक व्यक्तित्व होमनाथ गुरुङ आगामी कार्यकालका लागि पुनः सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ।
काठमाडौंको सुकेधारास्थित नव बुद्ध गुरुङ गुम्बामा सम्पन्न महाधिवेशनले उहाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। महाधिवेशनमा सहभागी करिब २५० जना आजीवन तथा साधारण सदस्यहरूले गुरुङको नेतृत्वप्रति पुनः विश्वास व्यक्त गर्दै सर्वसम्मत समर्थन जनाएका थिए।
महाधिवेशनमा तमू हियुल छोँ धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी संविधानसभा सदस्य हिरा गुरुङ र आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
निर्वाचन प्रक्रिया सम्पन्न गराउन गठित निर्वाचन आयोगको प्रमुखमा संस्थापक अध्यक्ष नारायणकाजी गुरुङ, सदस्यमा संस्थापक उपाध्यक्ष रामकाजी गुरुङ र अधिवक्ता ज्योति गुरुङ रहनुभएको थियो। आयोगले सर्वसम्मत र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेको जनाएको छ।
समाजका अध्यक्ष गुरुङ लामो समयदेखि खोटाङेली तमू समुदायको भाषा, लिपि, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ सामाजिक तथा परोपकारी अभियानहरूमा पनि उत्तिकै सक्रिय रहनुभएको छ। उहाँले समुदायमा पुर्याएको योगदानको कदरस्वरूप हालै सम्पन्न दोस्रो तरहरा उत्सव २०८२ मा “कम्युनिटी हिरो अवार्ड”बाट सम्मानित हुनुभएको थियो।
पुनः निर्वाचित भएपछि कुरा गर्दै अध्यक्ष गुरुङले दोस्रो कार्यकाललाई थप जिम्मेवारी र अवसरका रूपमा लिएको बताउनुभयो। उहाँले अधुरा योजना पूरा गर्ने, समुदायलाई अझ एकताबद्ध बनाउने तथा अधिकार, पहिचान र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सदस्यप्रति आभार प्रकट गर्नुभयो।





