समाचार

दमौलीमा तमु भाषा र खेमा लिपि प्रशिक्षक–प्रशिक्षण सुरु,भाषा संरक्षणमा नयाँ पहल

इच्छाकामना।आषाढ दमौलीमा तमु भाषा र खेमा लिपि प्रशिक्षक–प्रशिक्षण सुरु,भाषा संरक्षणमा नयाँ पहल तनहुँ । तमु भाषा,साहित्य,कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा तमु भाषा तथा खेमा लिपि प्रशिक्षण तालिम सुरु भएको छ।

क्याम्पसले सञ्चालन गरिरहेको ‘तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्ष–२०२६’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको सातदिने तालिमको उद्घाटन आदिवासी जनजाति भाषा तथा संस्कृति समिति संयोजक ठाकुरबहादुर दरैको सभापतित्वमा भएको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि व्यास नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले तमु भाषा समुदायको पहिचान,इतिहास र संस्कृतिसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै यसको संरक्षणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले आदिकवि भानुभक्त क्याम्पसले यस वर्षलाई ‘तमु वर्ष’ घोषणा गरी भाषा र खेमा लिपिको प्रशिक्षण सञ्चालन गर्नु अनुकरणीय कार्य भएको बताए।

क्याम्पस सञ्चालक समिति अध्यक्ष केशबहादुर सुनारले लोपोन्मुख बन्दै गएको तमु भाषाको संरक्षणका लागि शिक्षित युवा पुस्तालाई प्रशिक्षकका रूपमा तयार पार्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए। क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसभित्र सीमित नभई जिल्लाभरिका सहभागीलाई समेटेर भाषा र लिपि सिकाउने अवसर मिल्नु गौरवको विषय भएको बताए। उनले आफूले पनि खेमा लिपि सिक्न सहज र उपयोगी अनुभव गरेको उल्लेख गरे।

कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष राम कार्की, तमु ह्युल छोंज धी केन्द्रीय सचिवालय सदस्य रगबहादुर तमु, विज्ञ समूह संयोजक हरिसिङ टु तमु तथा खेमा लिपिका अभियन्ता एवं प्रशिक्षक भिम गुरुङलगायतले मातृभाषा संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

सह–प्राध्यापक वीरबहादुर तमुले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा राम कार्कीले स्वागत मन्तव्य दिएका थिए। सात दिनसम्म सञ्चालन हुने तालिममा तनहुँ जिल्लाका तमु शिक्षक–शिक्षिका तथा प्लस–टुदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत ३५ जना प्रशिक्षार्थी सहभागी छन्।

तालिममा भिम गुरुङले खेमा लिपि तथा बालकाशी तमु र खिमा तमुले तमु भाषा सम्बन्धी प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक हरिसिङ गुरुङले जानकारी दिए। आयोजकका अनुसार तालिमबाट दक्ष प्रशिक्षक उत्पादन गरी विद्यालय,समुदाय र विभिन्न संस्थामार्फत तमु भाषा तथा खेमा लिपिको संरक्षण र विस्तारमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ।