काठमाण्डौ । उपत्यकावासी गुरुङ समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक तथा पवित्र चाड माङी त्हि पर्व मनाएका छन् । मंगलबार काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरि उक्त पर्व मनाएको हो ।

गुरुङ पात्रोअनुसार हि कुहुन्द ङ्हि च्यु लसि त्हि मा सृष्टिकर्ता माङी (सात आमा) को उत्पत्ति भएको विश्वास गरिन्छ। ‘माँ’ अर्थात् आमा र ‘ङि’ अर्थात् सात आमाहरूको उत्पत्तिको दिनका रूपमा माङी त्हि नेपालसहित विश्वभर छरिएर रहेका गुरुङ समुदायले भव्य रूपमा मनाउने गर्छन्।

यसै अवसरमा तमूस्यो ह्युला छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको व्यवस्थापन परिषद्का काठमाडौं र ललितपुर जिल्ला कार्यसमितिले गरेका थिए।

राजधानीको गोंगबुस्थित तमु ह्युल छोंज धीं को सभाहलमा आयोजित कार्यक्रममा गुरुङ जातिको मौलिक कला र संस्कृतिसँग सम्बन्धित विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। आयोजकले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।






