ब्यानर

काफलबोट तमु समाजले मनाए ल्होसार

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ३ मा रहेको काफलबोट तमू (गुरुङ) समाजले ल्होसारको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ ।

तमू ल्होसार पुस १५ गते भए पनि सबैको समयानुकूल मिलाएर आज मनाइएको हो ।

बनेपा नगरपालिकाभरमा एक मात्र गुरुङ गाउँ हो काफलबोट । ४० घर धुरी गुरुङ रहेका छन् । उनीहरुले हरेक वर्ष आफ्नै सामुदायिक भवनमा भेला भएर ल्होसार मनाउने गरेका छन् ।

यस वर्ष पनि पुस २६ गते शनिवारका दिन सबै भेला भएर भव्य रुपमा ल्होसार मनाए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आफ्नो पहिचानलाई स्थापित गर्न परम्परालाई कायम राख्दै अघि बढेकोमा काफलबोट तमु समाजलाई धन्यवाद दिए । उनले प्रतिष्ठानको तर्फबाट समाजका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाको तर्फबाट समाजले निर्माण गरिरहेको सामुदायिक भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बनेपा नगरपालिका ३ नम्बर वडाध्यक्ष रमेश दाहालले ल्होसार मनाउनका लागि २५ हजार रुपियाँ सहयोग गर्ने प्रतिवद्धता जनाए ।

समाजका अध्यक्ष शम्भु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमू ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषदका पूर्वउपाध्यक्ष लक्ष्मण गुरुङ, वडा नम्बर ३ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गणेश गुरुङले सञ्चालन गरेको कार्यक्रममा कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । ल्होसारको महत्वअनुरुप स्यों कैं खाएर सबैले खुशियाली मनाएका थिए ।