जापानमा क्रियाशील तमु धीं किताकान्तो जापानले तमु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘तमु ल्होछार–२०२५’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने महासचिव भरत गुरुङले जानकारी दिएका छन्।
तमु समुदायको नयाँ वर्ष ल्होछारको अवसरमा आपसी सद्भाव, एकता र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा ल्होछारका सांस्कृतिक प्रतीक, परम्परागत भेषभूषा, रीति–रिवाज तथा मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत तमु संस्कृतिको पहिचान उजागर गरिने आयोजकको भनाइ छ।
महासचिव भरत गुरुङका अनुसार आगमी ल्होछारको सम्पुर्ण तयारी भैसकेको जानकारी दिए । ‘तमु ल्होछार–२०२५’ कार्यक्रम सन् २०२५ डिसेम्बर ३१ गते बुधबार दिउँसो १२ बजेदेखि जापानको गुन्मा प्रिफेक्चरस्थित ब्राजिलियन प्लाजा वर्ल्ड टाउन, ओरा डिस्ट्रिक्ट, ओइजुमी, निशिकोइजुमीमा आयोजना हुनेछ।
कार्यक्रममा जापानमा बसोबास गर्ने तमु समुदायका साथै विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजन तमु धीं किताकान्तो जापानका उपाध्यक्ष बबिन तमुको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय उपसमितिले गर्नेछ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा तमु धीं जापानका अध्यक्ष हिमाली तमु सहभागी रहनेछन्। सांस्कृतिक कार्यक्रमअन्तर्गत गायक गोबिन तमु र गायिका काजल तमुको विशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूद्वारा विविध मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनेछ।
कार्यक्रमको प्रवेश शुल्क च्यु–गाक्को (माध्यमिक तह) देखि माथिका बालबालिकाका लागि १,५०० येन, सामान्य टिकट ४,००० येन र भिआइपी टिकट १०,००० येन (खाजा तथा ड्रिङ्कसहित) निर्धारण गरिएको छ।
तमु धीं किताकान्तो जापानले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तमु समुदाय, शुभेच्छुक तथा सांस्कृतिक प्रेमीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।





