गुरुङ विशेष

व्यवसायी सुनिल गुरुङलाई तमू समाज युकेद्वारा ‘उत्कृष्ट समाज सेवा सम्मान’

शिवकुमार गुरुङ, लण्डन । 
तमू समाज युकेले नेपालका ख्यातिप्राप्त व्यवसायी तथा समाजसेवी सुनिल गुरुङलाई ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरेको छ। संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङमार्फत गुरुङ परम्परागत फेटा लगाएर सम्मान गरिएको हो।

लण्डनस्थित सडबरी ग्रीनफोर्डमा संस्थाकी अध्यक्ष विन्दुकुमारी गुरुङ घलेको अध्यक्षतामा सम्पन्न विशेष समारोहमा व्यवसायी एवम् समाजसेवी सुनिल गुरुङलाई भव्य स्वागत गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रमको सुरुवातमा संस्थाका निवर्तमान महासचिव धरमबल गुरुङले स्वागत मन्तव्य दिँदै तमू समाज युकेका उद्देश्य र गतिविधिबारे जानकारी प्रस्तुत गरेका थिए। त्यसपछि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले अतिथिप्रति शुभकामना व्यक्त गर्दै समाजको निरन्तर योगदानमा सहकार्यको प्रतिबद्धता जनाए। कार्यक्रममा सम्मानित व्यक्तित्व सुनिल गुरुङको जीवनी र योगदानबारे संक्षिप्त परिचयसमेत प्रस्तुत गरेको थियो।

सम्मान ग्रहण गर्दै समाजसेवी एवम् व्यवसायी गुरुङले तमू समाज युकेको आतिथ्यप्रति आभार व्यक्त गरे। ‘लण्डन भ्रमणका क्रममा विभिन्न संघ–संस्थाबाट स्वागत र सम्मान प्राप्त गर्दा अत्यन्त गौरव महसुस भएको उनले बताए।

तमू समाज युकेले गरिरहेका सामाजिक, सांस्कृतिक र मानवीय सेवाहरूले मलाई गहिरोरूपमा प्रभावित बनाएको उनले बताए। समाजलाई आवश्यक परेको हरेक अवस्थामा स्वदेश या विदेश, जहाँबाट पनि सहयोग गर्न सधैं तत्पर रहने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

संस्थाकी अध्यक्ष विन्दुकुमारी गुरुङ घलेले गुरूङ समुदायको प्रतिनिधित्व गर्दै सामाजिक एवम् व्यावसायिकरुपमा फराकिलो परिचय बनाउन सफल व्यक्तित्वलाई सम्मान गर्न पाउँदा अत्यन्तै गर्व लागेको बताइन्। ‘उहाँको व्यावसायिक सफलता, समाजसेवाको समर्पण र विनम्र स्वभाव हामी सबैका लागि प्रेरणादायी छ,’ उनले भनिन्।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, आमा समूहकी अध्यक्ष विमल गुरुङ, सल्लाहकार बिजु गुरुङ, धरमबल गुरुङलगायतका व्यक्तिहरु उपस्थित थिए।

सम्मानित व्यक्तिको परिचय :
गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा–१०, बुद्धचोक निवासी श्री सुनिल गुरुङ स्वर्गीय जमदार बिलबहादुर गुरुङ र श्रीमती हरशुवा गुरुङका कान्छा सुपुत्र हुन्। उनको परिवार दशकौँदेखि इन्धन तथा पेट्रोलियम व्यवसायमा सक्रिय रहँदै आएको छ।

स्वर्गीय जमदार बिलबहादुर गुरुङले पेट्रोल पम्प सञ्चालनमार्फत गण्डकी क्षेत्रको ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान दिएका थिए। त्यही परम्परालाई पछ्याउँदै हाल नेपाल आयल निगमसँग आबद्ध इन्धन आपूर्तिकर्ता र ट्यांकर सेवा सञ्चालक हुनुका साथै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि वहन गर्दै आएका छन्।

व्यावसायिक सफलतासँगै उनी खेलकुद र समाजसेवामा पनि अत्यन्त सक्रिय छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य, कास्की जिल्ला बक्सिङ संघ, रामघाट युवा क्लब, सहारा क्लब पोखरा, एलजी एसोसिएसनका सल्लाहकार तथा फिट नेपाल स्पोर्ट्स प्लेक्सका संस्थापक उनले आहा–रारा गोल्डकपका आर्थिक संकलन समितिका संयोजकको रूपमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

धार्मिक क्षेत्रमा पनि उनको निरन्तर योगदान रहँदै आएको छ। स्वर्गीय पिताको परिकल्पनामा स्थापित रामघाटस्थित बौद्ध सदन गुम्बालगायत पोखरास्थित विभिन्न बौद्ध गुम्बाहरूमा उनको सहयोग प्रशंसनीय छ।