कास्की । तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालले गुरुङ भाषाको समाचार प्रसारण दिवस मनाएको छ। गुरूङ भाषामा समाचार लेखन तथा प्रसारण भएको दिनको रुपमा हरेक वर्ष भदौ १ गतेलाई तमू भाषा प्रसारण दिवस मान्दै आएको छ। सोही क्रममा संघको सङ्घीय समितिले आइतबार गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री डा टकराज गुरूङको उपस्थितिमा दिवस मनाएको हो।
रेडियो नेपालबाट २०५१ भदौ १ गतेका दिन गुरुङ भाषामा पहिलोपटक समाचार प्रसारण भएको दिनको स्मरण गर्दै संघले प्रसारण दिवस मनाइएको हो। तर, संघले २०८० सालदेखि मात्रै यो दिवस मनाउन थालेको हो।
सोही क्रममा गोरखापत्र दैनिकमा पहिलोपटक गुरूङ भाषाको समाचार लेखन तथा सम्पादनको लागि पृष्ठ संयोजन गरेको भन्दै तमू समुदायकै अग्रज सञ्चारकर्मी एवम् वरिष्ठ पत्रकार तथा सार्वजनिक सेवा प्रशारण संस्थाका बोर्ड सदस्य अनिता गुरूङलाई सम्मान गरिएको छ। तमू धीँ नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री गुरूङले नेपालको संविधानले गुरूङ जातिलाई पनि आफ्नो हक अधिकारमा समेटेको बताए।
‘हामीभन्दा अघिल्लो पुस्ताले विभिन्न खालको विभेद भोगेर आएको हामीले देखेका छौँ, थाह पाएका छौँ,’ मन्त्री गुरूङले भने, ‘तर, अहिले समाज धेरै सुध्रिसकेको छ। पहिलेको जस्तो छैन।’ संविधानले ‘हामी सबै एकै हौँ’ भनेको उनले बताए।
तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङले गुरूङ भाषाको प्रसारण दिवसले गुरूङ जातिको इतिहास लेखनमा सानो भए पनि भूमिका निर्वाह गरेको बताए। ‘त्यसकारण हामीले यो दिवस मनाउनुमा गर्व गर्नुपर्छ,’ उनले भने, ‘भाषा संरक्षणमा पनि दिवसले केही न केही भूमिका खेलेको विषय नकार्न सकिँदैन।’
तमू सञ्चारकर्मी संघ नेपालकी उपाध्यक्ष खिमा गुरूङले गुरूङ भाषामै सञ्चालन गरेको कार्यक्रममा संघको कास्की जिल्ला अध्यक्ष युगबहादुर गुरूङले स्वागत गरेका थिए। रेडियो नेपाल गण्डकी प्रदेश प्रमुख शान्ति गुरुङले गुरुङ भाषाको समाचारको बारेमा रेडियो नेपालको चर्चा गरिन्।
तमू सञ्चारकर्मी संघ नेपालका संस्थापक संयोजक हुम गुरुङले २०६५ सालमा संस्था स्थापना हुँदादेखि हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए। तमू सञ्चारकर्मीहरुलाई लेखनमा समेत सक्रिय हुन उनले आग्रह गरे।
कार्यक्रममा तमू धीँ जापानका पूर्वअध्यक्ष तथा आदिवासी जनजाति महासंघ जापान शाखाका अध्यक्ष श्रीभक्त गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो। जापानबाट प्रतिनिधित्व गर्दै भ्वाइस अफ युनिभर्स सिजन-२ को फाइनलमा पुगेका प्रथम गुरुङ र हङकङबाट प्रतिनिधित्व गर्दै मरो डान्स युनिभर्स सिजन-२ को फाइनलमा पुगेकी रिस्ता गुरुङलाई सम्मान तथा शुभकामना व्यक्त गर्दै जिताइदिन आग्रह गरिएको थियो।