पोखरा : तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित “तमु विद्यार्थी छात्रवृत्ति वितरण” कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । शैक्षिकसत्र २०८२ का लागि छात्रवृत्ति वितरण गरिएको यस प्रथम चरणको कार्यक्रमका प्रमुख अतिथी चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल तमुले कडा मेहनत गरि राष्ट्रको सेवा गर्न विद्यार्थीहरुलाई प्रोत्साहन दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार कर्णबहादुर तमु, बनस्थली मा.वि. लम्जुङमा कक्षा ११ अध्ययनरत विद्यार्थी सङ्गीता तमु र संस्थाका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक श्रीजङ तमुले मन्तव्य राख्नुभएको थियो । कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लम्जुङ पश्चिमी भेगका विभिन्न विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको यस कार्यक्रममा संस्थाका सल्लाहकार, अक्षयकोषदाताहरु, संस्थापकहरु, अभिभावकहरु, पत्रकारहरु, विद्यार्थी समितिका सदस्यहरु तथा विद्यार्थीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । यस बर्ष १७७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने यस संस्थाले र अर्को हप्ता लमजुङ र गोर्खामा, त्यसपछि अन्य जिल्लाहरुमा छात्रवृत्ति वितरण गर्ने जानकारी संयोजक तमुले दिनुभयो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचीव कन्चन तमुले संचालन गरेको थियो ।