गुरुङ विशेष

सहकार्य गर्न सधैँ तत्पर : तमू ह्युल

काठमाडौँ  : तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का महासचिव राजु गुरुङले पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा तमू सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
तमू (गुरुङ) सञ्चारकर्मी संघले तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव राजु गुरुङले पहिचान र अधिकार प्राप्तिको मुद्दामा सञ्चारकर्मीको साथ अनिवार्य भएको बताउनुभएको हो । “तमू सञ्चारकर्मी संघले सञ्चालन गरेको वेबपोर्टल गुरुङन्यूज डटकमलाई सबै गुरुङले हेर्ने पोर्टल बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “गुरुङ समुदायको विषयमा आधिकारिक जानकारी प्राप्त हुने पोर्टल यही हो भन्ने गरी रेफरेन्सका रूपमा लिन सकिने बताउनुपर्छ । त्यसका लागि आवश्यक सहयोग गर्न तमू ह्युल तयार छ ।”
तमू (गुरुङ) सञ्चारकर्मी संघका अध्यक्ष लाला गुरुङले तमू ह्युल र तमू सञ्चारकर्मी संघबिच लामो समयदेखि बलियो सहकार्य रहँदै आएको स्मरण गर्नुभयो । त्यो सहकार्य वर्तमान कार्यसमितिसँग पनि निरन्तर हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हाम्रो समुदायको पहिचान र अधिकारका सवालमा विगतमा हामीबिच सहकार्यमा कहीँकतै ग्याप भएको थियो । त्यो अब पूर्णरूपमा हटाएर अघि बढ्नुपर्छ ।”


गुरुङ जातिको केन्द्रीय छाता संगठन तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् र तमू सञ्चारकर्मी संघबिच पहिलोपटक औपचारिक सामूहिक अन्तरक्रिया भएको भन्दै तमू ह्युलका अध्यक्ष धनमान गुरुङले यस्तो अन्तरक्रियाबाट आफू उत्साहित भएको बताउनु भयो । सञ्चारकर्मी आफूहरूका लागि सधैँ साथमा चाहिने भन्दै उहाँले नयाँ कार्यसमितिले १५१ वटा कार्यसूची बनाएको र त्यसमा धेरैवटा विषयमा सञ्चारकर्मी संघसँग सहकार्य हुने स्पष्ट पार्नुभयो ।
अन्तरक्रियामा तमू ह्युलका अध्यक्ष र महासचिवका साथै उपाध्यक्षहरू दिल गुरुङ, बिमला गुरुङ, देवकुमारी गुरुङ, श्रीप्रसाद गुरुङ, उपमहासचिव गोपाल गुरुङ, सचिव पूर्णबहादुर गुरुङ, सचिव कमला गुरुङ र सहकोषध्यक्ष टिकाराम गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै तमू सञ्चारकर्मी संघबाट केन्द्रीय अध्यक्ष लाला गुरुङ, सल्लाहकार अनिता गुरुङ, मनिराज गुरुङ, गंगादेवी गुरुङ, आनन्द गुरुङ, नवीनबाबु गुरुङ र रत्न गुरुङको सहभागिता रहेको थियो ।