गुरुङ विशेष

तमु समाज युकेको १८औं साधारण सम्पन्न,युवा व्यवसायी अरुण कुमार गुरुङ सम्मानित

युके :  तमु समाज युकेको १८औं साधारण सभा ३१ मे शनिबारका दिन विम्बलीस्थित वारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा भव्य रूपमा सम्पन्न भएको छ। सभा प्रारम्भ हुनु अघि समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष विमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गर्नुभएको थियो ।
सभामा महासचिव शुब घलेले हेल्थ एण्ड सेफ्टीका बारेमा प्रकाश पार्नुभयो भने समाजका वरिष्ठ उपाध्यक्ष भीम बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । समाजका पूर्व अध्यक्षहरू शिवचन्द्र गुरुङ, अर्जुन गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले समाजको स्थापना, उद्देश्य र समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउँदै आएको परोपकारी कार्य तथा धर्म(संस्कार संस्कृतिको जगेर्ना गर्ने योगदानबारे चर्चा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
महासचिव शुब घलेले समाजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। आमा समूहको वार्षिक प्रगति विवरण समाजकी आमा समूह अध्यक्ष विमला गुरुङले प्रस्तुत गर्नुभयो।पूर्वनिर्धारित कार्यक्रम तालिका अनुसार समाजले आगामी वर्ष आयोजना गर्ने चाडपर्व र अन्य कार्यक्रमहरूको विषयमा विस्तृत छलफल गरी मिति निर्धारण गरिएको छ ।
समाजका कोषाध्यक्ष श्री चन्द्रकान्त गुरुङले स्ांस्थाको आर्थिक विवरण प्रस्तुत गर्नुभयो। हाउजिङ प्रोजेक्टसम्बन्धी आर्थिक विवरणमा निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले थप प्रष्ट पार्ने भूमिका निर्वाह गर्नुभयो।

सभामा मा ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ र उत्कृष्ट समाज सेवा सम्मानपत्र वितरण, युवाहरूलाई समाजको मूलधारमा ल्याउने प्रेरणा, वार्षिक गृष्मकालीन भ्रमण कार्यक्रम, समाजको भवन र सामुदायिक भवनको भाडा परिमार्जन तथा व्यवस्थापन, तमु समाज युकेले राष्ट्रिय लटरी कोषबाट प्राप्त गरेको अनुदान रकमको व्यवस्थापन र उपयोग, साथै बुद्ध जयन्ती तथा बैशाख पूर्णिमाको अवसरमा घाँटु नाच आयोजना गर्ने सम्बन्धमा विशेष छलफल गरिएको जनाएको छ । साथै, समाजको विधान परिमार्जन र अन्य विविध विषयमा पनि गहन छलफल गरी आवश्यक निर्णयहरूगरेका छन् ।

युवा व्यवसायी अरुण कुमार गुरुङ सम्मानित

यसैबिच तमु धीं युकेको निमन्त्रणामा गोर्खा कपको अवसरमा नेपालस्थित पोखराबाट युके आउनुभएका युवा व्यवसायी अरुण कुमार गुरुङलाई सम्मान गरिएको छ । कोभिड–१९ महामारीको समयमा तमु समाज युकेले नेपालमा राहत वितरण गर्ने कार्यक्रममा उहाँले पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।तमु समाज युकेकी अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहकी अध्यक्षद्वारा खादा, फेटा र फूल अर्पण गरी समाजको लोगो अंकित प्लाक ‘मायाको चिनो’ प्रदान गर्दै भव्य स्वागत तथा सम्मान गरिएको हो ।
उक्त समयमा राहत वितरण कार्यक्रमको नेतृत्व तमु समाज युकेको आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ र तमु समाज युकेको आजीवन सदस्य तथा सोंपाल समाज युकेका पूर्व उपाध्यक्ष पार्वती गुरुङले गरी महत्वपूर्ण भूमिका निभाउनु भएको थियो।
सम्मान ग्रहण गर्दै युवा व्यवसायी अरुण कुमार गुरुङले तमु समाज युकेको यस सम्मान र मायाको चिनोप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गर्नुभयो।