चितवन । भरतपुर महानगरपालिका वडा नं.११ मा रहेको गोरखाली तमू समाजले गुरूङ भाषाको कक्षा सञ्चालन गरेको छ। समाजले गोेरखाली टोलस्थित आफ्नै भवनमा भाषा कक्षा सञ्चालन गरेको हो। बसाइसराइसँगै पश्चिमा मुलुकको प्रभावका कारण रैथाने भाषा बिर्सने जोखिम बढ्दै गएपछि संरक्षण गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गरिएको समाजका अध्यक्ष नेत्रबहादुर गुरूङले जानकारी दिए।
अहिलेको पुस्ताले पनि भाषा नजाने नयाँ पुस्ताको लागि झनै समस्या हुने हुँदा भाषा नजानेकाहरुका लागि कक्षा सञ्चालन गरिएको उनले बताए। २०६२ सालमा स्थापना भएको समाजले गुरूङ जातिको भाषा संरक्षण र सम्वर्द्वनलाई केन्द्रमा राखेर काम गर्दै आएको उनको भनाइ छ। गाउँले जीवनबाट बजारिया जीवनमा प्रवेश गरेसँगै चितवनमा गुरूङ जातिको बसोबास बाक्लिँदै गएको छ।
त्यसमध्ये गोरखाली तमू समाजमा मात्रै करिब एक सय घरधुरी आवद्ध छन्। समाजमा आवद्ध हुन बाँकी गुरूङहरु पनि थुप्रै छन्। उनीहरुलाई पनि समाजमा आवद्ध गराउने प्रयास भइरहेको अध्यक्ष गुरूङले बताए। तर, समाजभित्रै कतिपय गुरूङहरु भाषाबारे अनविज्ञ हुँदा जान्नेहरुबाट नजान्नेहरुलाई पनि भाषाको ज्ञान बढाउनको लागि औपचारिक कक्षा नै सञ्चालन गरिएको उनको भनाइ छ।
समाजले पहिलोपटक भाषा कक्षा सञ्चालन गरेको हो। गोरखा, धादिङ, तनहुँ, लम्जुङलगायतका जिल्लामा जन्मिएर भरतपुर आएका गुरूङहरुले भाषा सिकेका हुन्। वैशाख ७ गतेबाट सुरु भएको १५ दिने तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङले प्रशिक्षण दिइरहेका छन्। भरतपुरमा यसअघि पनि तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले विगत तीन वर्षदेखि भाषा कक्षा सञ्चालन गर्दै आएको छ।