- रविन गुरुङ
लमजुङको क्होलासोंथर गाउँपालिका–६, पसगाउँ (प्हैकोनाँस)का बहादुरसिंह र आमा सन्तकुमारीको छोरी माया तमू गुरुङ चलचित्र क्षेत्रमा हुनुहुन्छ, जो गत हील्होेमा गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफा)को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
अप्रिल २०२३ मा भएको जिफाको दोस्रो अधिवेशनबाट नायिका तथा निर्माता माया गुरूङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। गुरुङ चलचित्र ‘ह्युलै माया’बाट कलाकारिता क्षेत्रमा उदाउनुभएका मायालाई सोही चलचित्रको ‘बुट्टे चोलीरी, मोहनी मुनामै रिमै बोलिरी’ बोलको चर्चित गीतले बढी परिचित गराएको छ।
दोस्रो चलचित्र ‘च्यागी’मा पनि उहाँले नायिकाको रूपमा सशक्त अभिनय गर्नुभएको छ। तेस्रो चलचित्र ‘घलेक’मा आइपुग्दा भने कलाकारमात्र नभई निर्माताको भूमिका समेत निर्वाह गर्नुभयो। यसका साथै थुप्रै गुरुङ गीत तथा म्युजिक भिडियोमा मोडेलको रूपमा अभिनय गरिसक्नुभएको छ।
हङकङमा व्यवसाय गरिरहनुभएका उहाँ हङकङमा आयोजित १०० किलोमिटर दौडमा प्रथम हुनु भई गुरुङ महिला धावक बन्न सफल हुनुभएको छ। फुर्सदको समयमा हङकङको डाँडाहरूमा हाइकिङ गर्नहुन्छ। गुरुङ भाषा, धर्म, संस्कृतिको विकास र संरक्षणमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ।
गुरुङ चलचित्रको विकास र बजार व्यवस्थापनमा सबै निर्माण कम्पनीहरूले समन्वयकारी भूमिका खेल्नुपर्ने र यसमा स्वदेश र विदेशमा रहेका जिफाको सहयोग रहने उहाँ बताउनुहुन्छ।
नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।