गुरुङ विशेष

हिमाल आरोही तेजन गुरूङलाई पोखरामा सम्मान

पोखरा । गुरूङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) गण्डकीको आयोजनामा हिमाल आरोही तेजन गुरूङलाई सम्मान गरिएको छ । तेजनले ९ अक्टोबर २०२४ मा नेपाली समयअनुसार बिहान ५ बजे चीनको आठ हजार २७ मिटर अग्लो शीशापाङ्मा हिमाल आरोहण गरेका थिए। योसँगै उनले विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा हिमालको सफल आरोहण गरेका छन्।

गुरूङ समुदायबाट किर्तीमानी कायम गराउन सफल भएको भन्दै हिमाल आरोही तेजनलाई पोखरामा भव्य कार्यक्रम आयोजना गरी बधाई तथा सम्मान गरिएको तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङले जानकारी दिए।

तेजनलाई फेटा, माला, भाङ्ग्रा, खादा र सम्मानपत्रद्वारा सम्मान गरिएको उनले बताए। सम्मानित व्यक्ति तेजनले हिमाल आरोहण गर्दाएको अनुभव सुनाएका थिए। साथै नेपाली युवाहरुले आफ्नै देशमा सकेको योगदान दिनुपर्ने पनि उनले बताएका थिए।

तेजनसँगै किर्तीमानी आरोही मिङ्मा डेबिट शेर्पालाईसमेत सम्मान गरिएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाजागाजासहित ¥याली लेकसाइडस्थित क्रिष्टल मल पुगेको थियो।

जिटिन गण्डकीका अध्यक्ष किसमकुमारी गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल प्रमुख अतिथि थिए। जिटिन गण्डकीका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक बोबरजङ्ग गुरूङले स्वागत मन्तव्य दिएको कार्यक्रममा पोखरा पर्यटन परिषदका द्वितीय उपाध्यक्ष चौबहादुर गुरूङ, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरूङ, नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन मिश्र तथा पूर्व सदस्य गणेशबहादुर भट्टराईलगायतले बधाई तथा शुभकामना दिएका थिए।