ब्यानर

गोरखा सिम्जुङकी जगमाया ११ दिनदेखि सम्पर्कविहीन

दसैंको मुखमा सम्पर्कविहीन भएपछि परिवार बिचल्लीमा परेको छ।

गोरखा । अजिरकोट गाउँपालिका वडा नं.४ सिम्जुङकी ४५ वर्षीय जगमाया गुरूङ सम्पर्कविहीन भएकी छन्। असोज ११ गते बिहान करिब ७ बजेको समयमा घरबाट माइत लम्जुङको गरमबेसी जान भनेर हिँडेकी जगमाया हालसम्म पनि सम्पर्कमा नआएपछि परिवारमा चिन्ता छाएको छ। घरमा ६८ वर्षका अशक्त श्रीमान् आशबहादुर र दुई छोरामात्रै छन्।

छिमेकी तथा पारिवारिक आफन्त देउबहादुर गुरूङका अनुसार जगमाया बेपत्ता भएपछि श्रीमान् र दुई छोराहरु बिचल्लीमा परेका छन्। उनीहरुलाई छिमेकीले साहरा दिइरहेका छन्। ‘माइततिर फोन गरेर बुझ्दा पनि माइत पुगेको पाइएन, घर पनि फर्किनुभएको छैन,’ उनले भने, ‘दसैंको मुखमा आएर परिवारको मुली नै हराएपछि यो परिवार अँध्यारोमा रूमल्लिएको छ।’

असोज १० देखि १२ गतेसम्म भीषण वर्ष भएकोले दुर्घटनामा परेको हुन सक्ने गाउँलेको अनुमान छ। सम्भावित स्थानहरुमा खोजी गर्दा समेत नभेटिएपछि परिवारले जगमायाको खोजी गरिदिन आग्रह गरेको छ। वृद्ध श्रीमानसँगै १५ र १० वर्षका दुई छोरा जगमायाको बाटो हेरेर बसिरहेका छन्। उनका अनुसार घरकी आमा नै सम्पर्कविहीन भएपछि खोजी गरिदिनको लागि स्थानीय प्रहरीसँग आग्रह गरेको छ।

अजिरकोट गाउँपालिका वडा नं.४ का अध्यक्ष जङ्गबहादुर गुरूङले पनि जगमाया हराएको पुष्टि गरेका छन्। परिवारको सम्पर्कमा नआएकै दिन वडामा जानकारी आएको बताउँदै वडाअध्यक्ष गुरूङले भने, ‘परिवारले बताएअनुसार असोज ११ गते बिहान भच्चेकबाट गाडी चढे पनि कहाँ गयो भन्ने यकिन भएन।’

जगमायाको परिवारको अवस्था दयनीय छ। झन् परिवार धान्ने मुख्य व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारमा थप बज्रपात परेको छ। जगमायाको खोजीका लागि स्थानीयले सामाजिक सञ्जालबाट समेत प्रचार गरिरहेका छन्।