गुरुङ विशेष

तमू ह्युल छोंज धींको केन्द्रीय पार्षद सभा काठमाडौंमा सुरु

सञ्चार, सूचना तथा प्रविधिमन्त्री गुरुङद्वारा संस्थाको वेभसाइट सार्वजनिक

काठमाडौं । तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषदको १४औं केन्द्रीय पार्षद् सभा काठमाडौंमा सुरू भएको छ। सभाको उद्घाटन बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गरेका हुन्। त्यसक्रममा मन्त्री गुरूङले मुलुकको समसामयिक अवस्थाबारे जानकारी दिँदै स्थिर सरकार र समृद्ध देश निर्माणका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बनेको बताए।

मुलुकको गिर्दो अर्थतन्त्रमा सुधार ल्याउनेदेखि सुस्त बनेको विकास निर्माणका कामलाई गति दिन दुई ठूला दलको सरकार बनेको उनको जिकिर थियो। काठमाडौंको गोंगबु मित्रनगरस्थित बिजी बैंक्वेटमा सम्पन्न उद्घाटन समारोहमा मन्त्री गुरूङले देश निर्माणका विभिन्न आयामहरूमा सहभागी हुन गुरूङ समुदायका नयाँ पिँढीलाई आग्रह गरेका छन्।

त्यसका लागि परिवार र समाजले विशेष भूमिका खेल्नुपर्ने उनको सुझाव थियो। त्यस अवसरमा तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषदका संरक्षक परिषद् अध्यक्ष रेशम गुरूङ, सदस्यहरु कुम्भराज गुरूङ, डा शेखर गुरूङ र परिषदका केन्द्रीय सल्लाहकार डा टेकबहादुर गुरूङ, तमू बौद्ध सेवा समितिका महासचिव पुष्पबहादुर गुरूङ, तमूस्यो ह्युल छोंज धींका अध्यक्ष टिचन गुरूङ, तमू सञ्चारकर्मी संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरूङ (लाला) एवम् राष्ट्रिय प्रकृति स्रोत तथा वित्तीय आयोगका केन्द्रीय सदस्य जुद्धबहादुर गुरूङले शुभकामना मन्तव्य दिएका थिए।

पार्षद् सभाको उद्घाटन सत्रकै क्रममा मन्त्री गुरूङमार्फत् तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषदे संस्थाको आधिकारिक वेभसाइट www.tamuhyula.org शुभारम्भ गरेको छ। त्यसैगरी टानका नवनिर्वाचित केन्द्रीय सदस्यहरु अम्बिरबाबु गुरूङ, विकाश गुरूङ र राजु गुरूङलाई सम्मान गरिएको छ।

उद्घाटन सत्रमा तमू कलाकार संघका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उद्घाटनपछि काठमाडौंको गोंगबु मित्रनगरस्थित परिषदको केन्द्रीय कार्यालयमा बन्द सत्र सुरू भएको छ। बिहीबार र शुक्रबार गरी दुई दिन चल्ने बन्द सत्रमा महासचिव डम्बर गुरूङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सिरीप्रसाद गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। दुवै प्रतिवेदनउपर समूहगत छलफल गरी शुक्रबार पारित गर्ने कार्यक्रम रहेको ह्युल छोंज धींले जनाएको छ।

यसलगत्तै काठमाडौं घोषणापत्र जारी गरी समापन हुने परिषदका सहमहासचिव मनोज गुरूङले जानकारी दिए। बन्दसत्रमा देशभरका ६५ जिल्ला समिति, सात प्रदेश समिति, ३५ वटा संस्थागत सदस्य संस्थाहरु, महिला, युवा र विद्यार्थीबाट समेत प्रतिनिधि र पर्यवेक्षक गरी ३०० जना सहभागी छन्।