ब्यानर

तमू प्ये ल्हु संघद्वारा नौरङ्गेमा वृक्षरोपण

तमूहरुको धार्मिक कृयाकलाप गर्ने वातावरण सिर्जना गरिदिन माग

चितवन । तमू प्ये ल्हु संघ चितवनले वृक्षरोपण गरेको छ। बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको उपस्थितिमा शुक्रबार भरतपुर–११, नौरङ्गेस्थित प्ये ल्हु संघको कार्यालय परिसरमा वृक्षरोपण गरिएको हो।

कार्यालय परिसरलाई थप वातावरणमैत्री बनाउनको लागि वृक्षरोपण गरिएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए। उनका अनुसार प्ये ल्हु संघले कार्यालय परिसरमा फलफूल प्रजातिका करिब दुई सय विरूवा रोपेको हो।

तमू प्ये ल्हु संघ केन्द्रका उपाध्यक्ष एवम् वागमती प्रदेश प्रमुख तुलाराम तमूले सदियौँदेखि तमू जातिको सम्बन्ध प्रकृतिसँग निकट रहेको तमू जातिले आफ्नो समुदायको धार्मिक संस्कार पनि सोहीअनुसार अपनाउँदै आएको बताए। नौरङ्गेमा तमू प्ये ल्हु संघले धार्मिक संस्कारको लागि क्होइबो धीं निर्माण गर्न आवश्यक रहे पनि विभिन्न खालका अवरोधका कारण समस्या भइरहेको बताउँदै प्रदेश सरकारले त्यसलाई सहज बनाइदिनुपर्ने बताए।

डिभिजन वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीले वन तथा वातावरणसँग नेपाली समाजको सम्बन्ध ज्यादै निकट रहेको हुँदा कतिपय धार्मिक एवम् सांस्कृतिक कृयाकलापहरू वनक्षेत्रभित्रै हुने गरेको बताए। कुनै पनि जातिको धार्मिक एवम् सांस्कृतिक कृयाकलापमा समस्या नहोस् भनेर कानुनले पनि धार्मिक वनको प्रावधान ल्याएको भन्दै प्ये ल्हु संघ चितवनको लागि पनि सामुदायिक वनसँग सम्झौता गरेर धार्मिक वनमा रूपान्तरण गर्न सकिने उनले बताए।

सरकारले चितवनमा ६ वटा वनलाई धार्मिक वनको रूपमा हस्तान्तरण गरिसकेको बताए। तर, कतिपय अवस्थामा धार्मिक वनको नाममा त्यसलाई दुरूपयोग गर्न सक्ने जोखिमसमेत रहेको हुँदा वास्तविकता बुझेर काम गर्नु आवश्यक रहेको उनको भनाइ छ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री सिलवालले कानुनअनुसार सामुदायिक वनसँग सहमति गरेर धार्मिक वनमा रूपान्तरण गर्न आग्रह गरे। तमू जातिको धार्मिक आस्थाको केन्द्र बनाउने हुँदा धार्मिक वनमार्फत काम गर्न सहज हुने उनले बताए। त्यसपछि निर्माण हुने संरचनालाई पुरानो शैलीमा तमू जातिको पहिचान झल्किने खालका संरचना निर्माण गर्न सकिने उनको भनाइ छ।

आधुनिक कङ्क्रिट नभई काठैकाठको संरचना निर्माण गरेर चितवनमा तमू जातिको पहिचान दिलाउन सकिने उनले बताए। त्यस्तो अवस्थामा प्रदेश सरकारले दिल खोलेर सहयोग गर्न सकिने उनले बचन दिए। प्ये ल्हु संघ चितवनले प्रदेश मन्त्री सिलवाल, डिभिजन वन कार्यालय चितवनका प्रमुख कार्की र प्रदेशका मन्त्री सिलवालका स्वकीय सचिवमा नियुक्त भएका तमू प्ये ल्हु संघ चितवनका सचिव चित्रबहादुर तमूलाई सम्मान प्रदानसँगै बधाई ज्ञापन गरेको थियो।