लन्डन । बेलायतमा रहेका लमजुङको ईलमपोखरी क्षेत्रका नेपालीलाई एकताबद्ध गर्दै आएको ईलमपोखरी समाज यूकेको वार्षिक गृष्मकालीन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समाजले प्रत्येक वर्ष आयोजना गर्दै आएको गृष्मकालीन कार्यक्रम शनिबार, १५ अगस्टमा बेलायतको अल्डरसटस्थित “एल्डरवुड लेजर सेन्टर” परिसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न भएको हो।
समाजका अध्यक्ष परशु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लमजुङ समाज यूकेका अध्यक्ष तथा ईलमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा लमजुङ समाज यूके आमा समूहकी अध्यक्ष तारा गुरुङ, गोरखाली समाज यूकेकी अध्यक्ष टकमाया गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन अध्यक्ष परशु गुरुङ, प्रमुख अतिथि पूर्णराज गुरुङ, संस्थापक अध्यक्ष मोहनसिंह गुरुङ र विशेष अतिथि तारा गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। राष्ट्रिय धुनपछि समाजका दिवंगत सदस्य स्व। ज्ञानबहादुर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा पुरुषतर्फ भलिबल र फुटबल तथा महिलातर्फ विभिन्न मनोरञ्जनात्मक खेल आयोजना गरिएको थियो।
समाजका सल्लाहकार हरि गुरुङ र गायिका मञ्जु विकबीचको ठाडोभाका जुहारीले कार्यक्रममा थप रौनक थपेको थियो। सांस्कृतिक कार्यक्रममा लक्ष्मी गुरुङ, प्रिया गुरुङ र मञ्जु विकलगायत कलाकारले गायन तथा नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकारहरूले समेत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। पूर्वी लमजुङमा लोकप्रिय बाह्रमासे घाटु नाच पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा गोरखाली समाज यूके, गोरखा जिल्ला गुरुङ समाज यूके र तनहुँ समाज यूकेका अध्यक्ष तथा प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। नेपालबाट आएका कलाकारहरू प्रिया गुरुङ, मञ्जु विक र लक्ष्मी गुरुङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। पत्रकारितामार्फत समुदायमा पुर्याएको योगदानको कदर गर्दै गोरखा मिडियाका मिलन गुरुङलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमको अर्को आकर्षण राफल ड्र रहेको थियो। आकर्षक पुरस्कारसहित आयोजना गरिएको राफल ड्रले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो। समाजका उपाध्यक्ष प्रकाश गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव कुमार गुरुङले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमको उद्घोषण सबिता गुरुङले गरेकी थिइन्।
करिब २७५ जनाको सहभागिता रहेको कार्यक्रम दिउँसो १२ः३० बजे सुरु भई राति १०ः३० बजे सम्पन्न भएको थियो। कार्यक्रमले बेलायतमा रहेका ईलमपोखरी क्षेत्रका नेपालीबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याएको आयोजकले जनाएको छ।





