ब्यानर

टोकियोमा २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बादेखि प्रथम गुरुङसम्मको प्रस्तुति

प्रेमस तमु, टोकियो । तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तमु धीँ जापानको आयोजनामा २८औँ रोधी साँझ–२०२६ भव्य रूपमा सम्पन्न भएको छ।

अगस्ट ९ तारिख आइतबार टोकियोको शिन्जुकुस्थित WARP CLUB SHINJUKU मा आयोजित कार्यक्रममा तमु समुदायको मौलिक संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुति तथा नेपाली सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण नेपाली पप संगीतका चर्चित गायक निमा रुम्बा तथा मर्क्युरी ब्याण्ड (NIMA RUMBA & MERCURY BAND) को विशेष लाइभ प्रस्तुति बन्यो। रुम्बाले आफ्ना चर्चित गीत ‘प्रीति बस्यो’, ‘जाँदैछु म विदेशमा’ लगायतका गीत प्रस्तुत गर्दा दर्शकहरू गीतसँगै झुम्दै, नाच्दै र गाउँदै साथ दिएका थिए। उनको ऊर्जावान प्रस्तुतिले कार्यक्रमस्थलको माहोललाई थप सांगीतिक र रोमाञ्चक बनाएको थियो।

त्यस्तै, ‘मेरो भाइस युनिभर्स सिजन–२’ का विजेता प्रथम गुरुङले पनि आफ्नो सांगीतिक प्रस्तुतिमार्फत दर्शकको मन जिते। उनको प्रस्तुतिलाई दर्शकले उत्साहपूर्ण रूपमा स्वागत गरेका थिए। गायक विशाल लम्सालसँगको उनको युगल प्रस्तुतिसमेत कार्यक्रमको अर्को आकर्षण बनेको थियो।

मर्क्युरी ब्याण्डको लाइभ संगीत र निमा रुम्बाको प्रस्तुति, त्यसमा थपिएका नेपाली तथा तमु सांस्कृतिक कार्यक्रमले रोधी साँझलाई मनोरञ्जनसँगै सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको थियो।

तमु संस्कृति र मौलिक पहिचानको झल्को

रोधी साँझ केवल सांगीतिक मनोरञ्जनमा सीमित नभई तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार, परम्परा तथा मौलिक पहिचानलाई संरक्षण र नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा तमु धीँ जापानसँग आबद्ध कलाकार तथा सांस्कृतिक परिवारका सदस्यहरूले तमु समुदायको मौलिक संस्कृति झल्काउने विभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। परम्परागत तमु संस्कृति र आधुनिक नेपाली संगीतको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विदेशमा रहेर पनि संस्कृति जोगाउने दायित्व

कार्यक्रममा बोल्दै तमु धीँ जापानका अध्यक्ष अमर गुरुङले विदेशमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति, संस्कार र मौलिक पहिचानलाई जीवन्त राख्नु सबैको साझा दायित्व भएको बताए।

उनले रोधी साँझजस्ता कार्यक्रमले तमु समुदायबीचको एकतालाई अझ मजबुत बनाउनुका साथै जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक आदानप्रदानलाई समेत प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा जापानमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, जातीय तथा सामुदायिक संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संगठनका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

तीन दशकदेखि निरन्तर रोधी साँझ

तमु धीँ जापानले करिब तीन दशक लामो इतिहास बोकेको रोधी साँझलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको छ। रोधी साँझमार्फत जापानमा रहेका तमु समुदायले आफ्नो मौलिक भाषा, संस्कृति, संस्कार र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउँदै आएको छ।

यस वर्षको २८औँ रोधी साँझमा पनि मौलिक तमु संस्कृति, नयाँ पुस्ताका कलाकार तथा नेपाली लोकप्रिय संगीतलाई एउटै मञ्चमा प्रस्तुत गरिएको थियो।

आयोजकका अनुसार कार्यक्रमले जापानमा रहेका नेपालीबीच आपसी सद्भाव, सांस्कृतिक आदानप्रदान र सामाजिक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।