समाचार

चिउली पाचे तमु समाज आमा समितिको अध्यक्षमा विष्णु गुरुङ चयन

पोखरा। चिउली पाचे तमु समाज आमा समितिको नवौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि विष्णु गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा सुनमाया गुरुङ, द्वितीय उपाध्यक्षमा मीन सुबा गुरुङ, सचिवमा उमा गुरुङ, सहसचिवमा औसुबा गुरुङ, कोषाध्यक्षमा तौ सुबा गुरुङ तथा सहकोषाध्यक्षमा पूर्णमाया गुरुङ चयन हुनुभएको छ। सदस्यहरूमा रुपा तमु (क), रुपा तमु (ख), मेन सुबा तमु, ननसुबा तमु, सुनमाया तमु, सुस्मा तमु, कोमलदेवी तमु, नुन सुबा तमु, पूर्णमाया तमु र आसमाया तमु चयन हुनुभएको छ। बाँकी २ जना सदस्य पछि चयन गरिनेछ । कार्यक्रमको उद्घाटन स्वास्थ्य अक्षयकोषका दाता तथा गायक खिमकुमार गुरुङले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संस्थापकहरूको योगदानकै कारण समाजले निरन्तर प्रगति गरेको उल्लेख गर्नुभयो । उहाँले आमा समितिको उन्नति प्रगतिको लागि रु ५० हजार प्रदान गर्नुभएको थियो । साथै आमा समितिले प्रत्येक वर्ष आफ्नो स्थापना दिवस मनाउँदै आएकोमा खुसी व्यक्त गर्नुभयो।

चिउली पाचे तमु समाजका अध्यक्ष कप्तान शमशेर गुरुङले आमा समिति मूल समाजको महत्वपूर्ण सहयात्री भएको बताउँदै नयाँ नेतृत्वले एकता, पारदर्शिता, सहकार्य र सेवाभावका साथ संस्थालाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। तमु धीं नेपाल केन्द्रीय आमा समितिकी अध्यक्ष पवित्रा गुरुङले आमा समितिका सक्रिय र सिर्जनात्मक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिनुभयो। समितिकी सल्लाहकार संयोजक तथा संस्थापक अध्यक्ष कर्णेलनी पदम शोभा गुरुङले महिलाको सशक्तीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै सक्षम, सक्रिय र दूरदर्शी नेतृत्वले संस्थालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिकी अध्यक्ष तथा सल्लाहकार बुद्धिमाया गुरुङले समाजका आमाहरूको जोस, जाँगर र समर्पणकै कारण संस्थाले उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो। गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङले आमा समिति कुनै पनि समाजको मेरुदण्ड भएको उल्लेख गर्दै परिवार, भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा आमाहरूको भूमिका अतुलनीय रहेको धारणा राख्नुभयो। कार्यक्रममा समाजका पूर्वसचिव तथा वर्तमान सल्लाहकार डम्बरबहादुर गुरुङ र सम्मानित व्यक्तित्व रामकुमारी गुरुङ (धनमाया) ले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा स्थापना कालदेखि समाजलाई निरन्तर साथ र सहयोग पुर्‍याउँदै आउनुभएकी रामकुमारी गुरुङ (धनमाया) लाई ‘सक्रिय आमा–२०८३’ सम्मानबाट सम्मानित गरिएको थियो। सम्मानित गुरुङले आमा समितिको उन्नति र प्रगतिका लागि रु. १० हजार ५ सय ५५ सहयोग प्रदान गर्नुभयो। त्यसैगरी, सल्लाहकार संयोजक तथा संस्थापक अध्यक्ष कर्णेलनी पदम शोभा गुरुङलाई उहाँको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो। समाजका पूर्वउपाध्यक्ष WO2 बलबहादुर गुरुङ र उहाँकी धर्मपत्नी औसुबा गुरुङलाई विगत चार वर्षदेखि निरन्तर खानेपानी प्रायोजन गरेको योगदानको कदर गर्दै प्रमाणपत्र, गलबन्दी र पछ्यौराद्वारा सम्मान गरिएको थियो।

योग प्रशिक्षक विष्णु गुरुङ र निमा गुरुङलाई समेत सम्मान गरिएको थियो। सहयोग घोषणाअन्तर्गत समितिकी अध्यक्ष लोककुमारी गुरुङकी छोरी कला गुरुङले रु. १५ हजार, हर्पुथर चेलीबेटी समूहकी अध्यक्ष बेलकुमारी गुरुङले रु. १० हजार तथा हाल हङकङबाट घर बिदामा आउनुभएका हर्कजङ्ग गुरुङ र उहाँकी आमाबाट रु. १५ हजार सहयोग प्रदान गर्नुभएको थियो। यसै अवसरमा आमा समितिले फोल्डिङ स्टेज निर्माणका लागि चिउली पाचे तमु समाज मूल समितिलाई रु. २ लाख १९ हजार हस्तान्तरण गरेको जनाएको छ।