News

बागमतीमा तमू क्युई तथा खेमा लिपि प्रशिक्षक प्रशिक्षण सम्पन्न

बागमती । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेश कार्यसमितिको आयोजनामा दुईदिने प्रदेशस्तरीय संगठन सुदृढीकरण तथा तमू क्युई एवं खेमा लिपि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। असार ६ र ७ गते सञ्चालन भएको कार्यक्रममा बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पहिलो दिन संगठन सुदृढीकरणसम्बन्धी प्रशिक्षण परिषद्का केन्द्रीय उपाध्यक्ष दिल गुरुङ र महासचिव राजु गुरुङ ले दिनुभएको थियो। दोस्रो दिन तमू क्युई तथा खेमा लिपिसम्बन्धी प्रशिक्षण परिषद्का केन्द्रीय अध्यक्ष तथा मुख्य प्रशिक्षक धनमान गुरुङ तथा भाषा एवं खेमा लिपि प्रशिक्षक ठाकुर जंग गुरुङ ले प्रदान गर्नुभएको थियो।

कार्यक्रमले संगठनलाई थप सुदृढ बनाउनुका साथै तमू भाषा, संस्कृति, क्युई तथा खेमा लिपिको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार प्रदेशस्तरमा प्रशिक्षक उत्पादन गरी भाषा तथा लिपिको प्रयोग र विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।