ब्यानर

‘तमू पत्रकारका समस्या आमपत्रकारकै जस्तो’

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले पत्रकारिताको समस्या, चुनौती र अवसरका विषयमा दुई दिने परामर्श कार्यक्रम सम्पन्न गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा काठमाडौंमा भएको परामर्श कार्यक्रममा सहभागी तमू पत्रकारहरुले आमपत्रकारहरुले भोग्दै आएका समस्याहरु भोगिरहेको बताएका छन्।

चितवनबाट सहभागी तुलमान गुरुङले पत्रकारले अहिले सबैभन्दा चरम रुपमा आर्थिक संकट भोगिरहनु परेको बताए। यस्तो अवस्थामा तमू पत्रकार एवम् सञ्चारकर्मीलाई पेसामा टिकाइराख्नका लागि आफ्नै समुदायले ध्यान दिनुपर्ने उनले बताए।

कार्यक्रममा पत्रकारका समस्या, चुनौती र अवसरका विषयमा बरिष्ठ पत्रकार चुनबहादुर गुरुङ, नेपाली मिडियामा एआईको प्रयोगका विषयमा बरिष्ठ पत्रकार खिम घले र नेपालका आदिवासी जनजाति पत्रत्रकार र समावेसिताका विषयमा बरिष्ठ पत्रकार डण्ड गुरुङले प्रशिक्षण दिएका थिए।

सो कार्यक्रममा संस्थाका भावी योजनाका विषयमा समेत छलफल भएको थियो। यसको सहजीकरण बरिष्ठ पत्रकार अनिता गुरुङले गरेकी थिइन्। कार्यक्रममा डा. टेकबहादुर गुरुङले पत्रकारका समस्यालाई उद्देश्यमा कसरी परिणत गर्ने भन्ने विषयमा सहजीकरण गरेका थिए।

चितवन, कास्की, रुपन्देहीलगायतका जिल्लाबाट ३० बढी पत्रकार तथा सञ्चारकर्मीहरु सहभागी सो तालिमले आफूहरु उत्साहित भएको र यसले सकारात्मक प्रभाव पार्ने विश्वास तमू सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरुङको छ।