पोखरा । सूचनाको हकका लागि राष्ट्रिय महासघ गण्डकी प्रदेश समितिको अध्यक्षमा पोखराका अग्रज पत्रकार राजबहादुर गुरुङलाई चयन गरिएको छ। गण्डकी प्रदेशभित्रका सूचनाको हकका अभियान्ताहरुको भेलाले सूचनाको हकका लागि राष्ट्रिय महासंघको गण्डकी प्रदेश समिति गठन गरेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलाले समितिको अध्यक्षमा राजबहादुर गुरुङ, उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिवमा भारत कोइराला, सचिवमा कृष्ण क्षेत्री, महिला सचिवमा माया अधिकारी र कोषाध्यक्षमा टीका आचार्य रहेका छन् भने सदस्यहरुमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकरराज नहर्की, विराज त्रिपाठी, सुभाष पौडेल, सुशीला रोका, शिवप्रसाद गौतम र मिला दराईलाई चयन गरिएको छ।
यसैबीच नवनिर्वाचित समितिको पहिलो बैठकले गङ्गाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई महासंघको गण्डकी प्रदेश समितिको सल्लाहकार मनोनित गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष राजबहादुर गुरुङले जानकारी दिए।
पोखराका अग्रज पत्रकारहरु गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिबप्रसाद बस्ताकोटी रहेको निर्वाचन सहजीकरण समितिले कार्यसमिति चयनको प्रक्रिया टुङ्ग्याएको थियो। कार्यक्रममा राष्ट्रिय अध्यक्ष उमिद वागचन, बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासचिव पूर्णप्रसाद मिश्र र केन्द्रीय पदाधिकारी सदस्यहरुको उपस्थिति थियो।