काठमाडौँ : बौद्धमार्गी तमू (गुरुङ) समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् (आइसीजीवी) ले नेपालको राजधानी काठमाडौंमा बृहत अन्तक्र्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको उक्त कार्यक्रममा काठमाडौंमा रहेका अधिकांश तमू संघसंस्थाका करिव एक सय ५० प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रममा आइसीजीवीका प्रेसिडेन्ट डा.कुमार गुरुङ, डेपुटी प्रेसिडेन्टहरु धुर्र्बबहादुर गुरुङ र डा. छम्पा मेघी लामा गुरुङ तथा महासचिव पुष्पबहादुर गुरुङले ’’गुरुङ बुद्धिजम“ को अवधारणा बारे व्याख्या गरेका थिए । प्रेसिडेन्ट डा. गुरुङले बुद्ध धर्मको पञ्चशीलको मुल्य मान्यता र गुरुङ समुदायले अभ्यास गर्दै आएको संस्कार संस्कृतिको समायोजनलाई “गुरुङ बुद्धिजम“ दिइएको बताए ।
“हामीले त्यस्तै कुनै नयाँ अवधारणा ल्याएको होइन, गुरुङ समुदायले अभ्यास गर्दै आएको संस्कार संस्कृति सदसयौंदेखि छ, भगवान बुद्धले प्रतिपालन गरेका पञ्चशीलगायतका मुल्य मान्यताहरु पनि त्यही छन्, त्यो दुई वीचको समायोजनलाई नै हामीले गुरुङ बुद्धिजम भनेका हौं“ उनले भने ।
कार्यक्रममा डेपुटी प्रेसिडेन्ट धुर्ब गुरुङले पछिल्लो समय बौद्धमार्गी गुरुङहरुले विभिन्न कर्मकाण्ड तथा संस्कारगत कार्यहरुमा गुरुङको परम्परालाई छाडेर बौद्ध धर्मको नाममा अरुकै संस्कारहरु अनुशरण गर्न थालेकोले “गुरुङ बुद्धिजम“ को अवधारणा ल्याउनु परेको बताए ।
“गुरुङको संस्कारमा छोरा, छोरी, मामली, भाइखलक अनिवार्य छ, तर पछिल्लो समय बौद्ध धर्मका सिद्धान्तहरुमा पढेका लामा गुरुहरुले उनीहरुको उपस्थितिबिनै कुनै पनि संस्कारगत कार्यबिनै कर्मकाण्डहरु गर्न थाले“ उनले भने, “हाम्रो भनाई गुरुङका संस्कारगत कार्यहरुलाई पनि नछाडी छिटो, छरितो र सुलभ ढंगले बौद्ध धर्मका मुल्यमान्यतालाई पनि आत्मसात गर्दै कसरी कार्यहरु गर्न सकिन्छ भन्ने हो ।“
कार्यक्रममा अर्का डेपुटी प्रेसडेन्ट डा. छम्पा मेघी गुरुङ र महासचिव पुष्प गुरुङले आफुहरुले “गुरुङ बुद्धिजम“ को एउटा संस्कारगत निर्देशिका तयार गर्दै गरेको हुँदा सुझावहरुको लागि अनुरोध गरेका थिए ।
आइसीजीवीले असोज ९ र १० गते काठमाडौंमा हुने आफ्नो प्रथम महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनबाट “गुरुङ बुद्धिजम पेक्ष्या“ निर्देशिक पारित गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसैका लागि श्रृंखलाबद्ध रुपमा अन्तक्र्रिया तथा सुझाव संकलन कार्यहरु भइरहेको छ । त्यसै सिलसिलामा शनिबार काठमाडौंमा कार्यक्रा आयोजना गरिएको हो भने बैशाख १५ गते पोखरास्थित बौद्ध अर्घौं सदन, बैशाख १६ गते पोखराकै पार्दी तमू समाज र बैशाख २० गते झापाको माईधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरूसँग छलफल तथा सुझाव संकलन कार्यक्रम राखिएको छ ।
त्यसैगरी नेपाल, भारत, भूटान र संयक्त राज्य अमेरिकाका गरी चार देशका प्रतिनिधिहरूसहित मे १७ तारिख (जेठ ३ ) मा भारतको सिलगुढी, मे १८ तारिख (जेठ ४) मा सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, मे १९ तारिख (जेठ ५) मा गान्तोक, र मे २० तारिख (जेठ ६) मा याङ–याङमा अन्तक्र्रियाहरु आयोजना गरिने छन् । त्यसपछि भारतकै दार्जिलिङ र खर्साङमा पनि छलफलहरु आयोजना गर्ने कार्यक्रम रहेको छ ।
आइसीजीवीको नेपाल, भारत, भूटान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलियालगायत बौद्ध धर्मालम्बी गुरुङहरुको बसोबार रहेको देशहरुमा संगठन रहेको छ । तिनै देशहरुबाट महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरु आउने छन् ।