गुरुङ विशेष

जिटिनको अध्यक्षमा पुन: किसमकुमारी गुरुङ

रासस गण्डकीका प्रमुख वासुदेव पौडेललाई २५ हजार २५ रुपैयाँसहितको सम्मान

पोखरा। गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ (एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सहकोषाध्यक्षमा गंगा घले सर्वसम्मत चयन भएका हुन्।

कार्यसमितिका सदस्यहरूमा भने राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारीलाई सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खादा तथा अविर लगाएर सम्मान गरे। मन्त्री गुरुङले प्राकृतिक एवम् सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै त्यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।

संघले अघि सारेको गुरुङ सम्पदा मार्ग पर्यटकीय विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै उहाँले यसको प्रवर्द्वन र विकासका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे। पदयात्रा क्षेत्रलाई व्यवस्थित गर्दै पर्वतीय पर्यटनको विकास गर्नुपर्ने उनले बताए। जनताले अनुभूति गर्नेगरी काम गर्ने लक्ष्यका साथ वर्तमान सरकार अघि बढेको बताउँदै मन्त्री गुरूङले काम गर्ने क्रममा आउने गरेका समस्यालाई निराकरण गर्न ११ वटा कानुन बनाउने तयारी गरिएको जानकारी दिए।

प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्प बन्न सक्ने बताए। गुरूङ समुदायको इतिहास र संस्कृति जोडिएका स्थानहरुलाई पर्यटकीयस्थलको रुपमा उपयोग गर्दै त्यसबाट समृद्धि हासिल गर्न सकिने उनले बताए।

गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले सम्पदा पदमार्गलाई पर्यटनमा परिणाम दिनेगरी प्रवर्द्वनको प्रयासमा जुटेको बताए।

पत्रकार पौडेललाई सम्मान 
सम्पदा पदमार्गको प्रवर्द्वनमा पत्रकारिताकाको माध्यमबाट योगदान दिएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई नगदसहित सम्मान गरिएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नगद २५ हजार २५ रुपैयाँसहित सम्मापत्र प्रदान गरेको थियो। सोही अवसरमा पदमार्गको अन्वेषणमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै जिटिन नेपालका कार्यसमिति सदस्य एवम् अन्वेषण विज्ञ सञ्जीव गुरुङलाई पनि सम्मान गरिएको थियो।