गुरुङ विशेष

तमू समाज युकेको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ शिवकुमार र कन्याप्रसादलाई

पाँच जना समाजसेवीहरुलाई ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान

लन्डन । तमू समाज युकेले सामाजिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विशिष्ट समाजसेवा सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड–२०२५) प्रदान गरेको छ। तमू ल्होसार/ल्होछार पर्वको अवसरमा ४ जनवरीका दिन लण्डनस्थित ह्यारो लेजर सेन्टरको बाइरोन हलमा काउन्सिल लिडर लण्डन बारो अफ ब्रेन्टका काउन्सिलर मोहमेद बटको विशेष उपस्थितिमा लामो समयदेखि सामाजिक क्षेत्रमा योगदान दिएका पुराना सामाजिक अभियन्ताहरुलाई अवार्ड प्रदान गरेको हो।

समाजको स्थापनाकालदेखि नै अनवरतरुपमा विभिन्न पदमा रहेर काम गर्दैगर्दा तमू समाज युकेको संरक्षण, सम्बर्द्वन र विकासका निम्ति अतुलनीय योगदान दिएका तमू समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरूङ र पूर्वउपाध्यक्ष तथा सल्लाहकार कन्याप्रसाद गुरूङलाई ‘तमू समाज युके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट एवार्ड–२०२५) प्रदान गरिएको तमू समाज युकेकी अध्यक्ष विन्दुकुमारी गुरूङ घलेले जानकारी दिइन्।

सम्मानित व्यक्तिसँगै उनीहरुका जीवनसाथीलाई खादा र दोसल्ला ओढाउनुका साथै पुष्प गुच्छा प्रदान गरिएको थियो।

यसैगरी तमू समाज युकेले प्रत्येक वर्ष ल्होसार/ल्होछारको अवसरमा सामाजिक कार्यमार्फत समाजमा पुर्‍याएको योगदानका आधारमा ‘तमू समाज युके उत्कृष्ट समाज सेवा सम्मान’बाट पाँच जना समाजसेवीहरुलाई ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरेको छ। संस्थाका सल्लाहकारहरु लेख गुरूङ, कमलबहादुर गुरूङ, नारायणसिंह गुरूङ, आमा समूहकी कार्यसमिति सदस्य लक्ष्मी गुरूङ र युवा समूहका निर्वतमान अध्यक्ष ओमकार गुरूङलाई सम्मान गरिएको तमू समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए।

सोही अवसरमा नेपालबाट तमू धीं युकेको रजत जयन्तीको लागि वेलायत आएका तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरूङ, तमू समाज युकेको निमन्त्रणामा वेलायत आएका तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङ र मन्जुश्री बालबालिका संरक्षण केन्द्रकी संस्थापक तथा प्रबन्ध निर्देशक माया (दोर्जे डोल्मा) गुरूङलाई भव्य स्वागत गर्नुका साथै नेपाली समुदायमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै ‘तमू समाज युके विशिष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरिएको समाजकी अध्यक्ष घलेले बताइन्।

कार्यक्रममा ब्रेन्ट काउन्सिल किङ्सबरी वडाका काउन्सिलर सकिब बटलाई सामाजको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

तमू धीं युकेका अध्यक्ष जुमकाजी गुरूङ, तमू धीं युकेका आमा समूहकी अध्यक्ष कमला गुरूङ, पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेनेलाई बधाई ज्ञापनसँगै सम्मान प्रदान गरेको थियो। British Army Warrant Officer Class बाट British Army Captain पदमा पदोन्नति भएका तमू समाज यकेका आजीवन सदस्य बुद्धिराज घले र उनकी धर्मपत्नी डीना गुरूङ घलेलाई समाजको तर्फबाट खादा, फेटा र दोसल्ला ओढाउनुका साथै पुष्प गुच्छा प्रदान गरी बधाइ ज्ञापन गरिएको समाजकी अध्यक्ष विन्दुकुमारी गुरूङ घलेले जानकारी दिइन्।

यस्तै तमू समाज युकेको सामुदायिक भवन खरिद परियोजनमा आर्थिक सहयोग प्रदान गर्ने दानवीर दाता एवम् तमू समाज युकेका सल्लाहकारहरु ले.रि. पञ्चबहादुर गुरूङ तथा श्रीमती रेणुमाया गुरूङ, तमू प्ये ल्हु संघ युकेका पूर्व अध्यक्ष सोम त्होर्जे तमू, तमू प्ये ल्हु संघ युके आमा समूहकी अध्यक्ष बबिता गुरूङ, तमू समाज युकेका आजीवन सदस्य जमानसिंह गुरूङ र श्रीमती विजय गुरूङलाई फेटा, खदा, दोसल्लासहित ताम्रपत्रसहित सम्मान गरिएको थियो।

उक्त कार्यक्रमपछि शुभकामना मन्तव्य दिँदै समाजका निर्वतमान अध्यक्ष शिवकुमार गुरूङले तमू समाज युकेको स्थापना कालदेखि समाजमा निष्ठापूर्वक विभिन्न पदमा रहेर काम गर्ने मौका पाएको बताए। उर्जाशील जीवनमा सामाजिक कार्यमा दिएको योगदानको मूल्याङ्कन गरेर आफूलाई सम्मान गरेको विषयमा तमू समाज युकेप्रति आभार प्रकट गरे। ‘मैले पाएको सम्मानले आगामी दिनमा पनि निरन्तरूपमा सामाजिक सेवामा लागिरहन उर्जा मिलेको महसुस भएको छ,’ उनले भने।

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरूङले तमू समाज युकेले प्रदान गरेको सम्मान सधैँ शिरोपर गरेर सकारात्मक भावनाका साथ तमू समुदायको हितमा काम गर्ने प्ररणा मिलेको प्रतिकृया दिए। तमूहरु जुनसुकै संस्थामा आवद्ध भएर काम गरे पनि भावनामा एक हुनुपर्ने उनले बताए।

तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरूङले तमूहरु जुनससुकै देशमा रहे पनि आफ्नो जातिको धर्म, संस्कार, संस्कृति, भाषा र भेषभूषालाई बिर्सन नहुने सुझाव दिए। ‘हाम्रो समुदायको ती सबै सम्पत्ति संरक्षणमा हामी सबैले हातेमालो गरेर योगदान दिनुपर्छ,’ उनले भने। उनले सोही अवसरमा नेपालबाट ल्याएको मायाको चिनो तमू समाज युकेकी अध्यक्ष विन्दुकुमारी गुरूङ घलेलाई प्रदान गरेका थिए।

तमू धीं युकेका अध्यक्ष जुमकाजी गुरूङले तमू समाज युकेसँग तमू धीं युकेको सम्बन्ध प्रगाढ हुँदै गएको दाबी गरे। आगामी दिनमा सबै तमूहरुलाई एकतामा ल्याउन दुवै संस्था मिलेर काम गर्नुपर्नेसमेत उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि लिडर अफ लण्डन बरोअफ ब्रेन्टका काउन्सिलर मोहमेद बटले तमू समाज युकेले संस्थागतरूपमा ब्रेन्ट काउन्सिलमा धेरै साथ र सहयोग दिँदै आएको बताए। भविष्यमा पनि समाजलाई आवश्यक सहयोग दिने प्रतिबद्धता जनाए।

ल्होसार/ल्होछारको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमतर्फ भने चिर्चित कलाकर्मीहरुले जोडदार प्रस्तुति दिएका थिए। नृत्याङ्गना तथा निर्देशक शेखर घर्तिमगरको नृत्य, लोक गायिका विमला गुरूङ, लोक गायक शितल गुरूङ गायिका हरिमाया गुरूङलगायतका कलाकारहरुको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम भव्य बनेको थियो।

करिब ६० भन्दा बढी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा तमू समाज युकेकी पूर्व सांस्कृतिक सचिव सरू गुरूङ रानाको नृत्य निर्देशन तथा आमा समूहकी अध्यक्ष विमला गुरूङको व्यवस्थापनमा प्रस्तुत नृत्य तथा सांस्कृतिक कार्यक्रमले माहोललाई भरपुर मनोरञ्जनात्मक बनाएको थियो।

सांस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुति गरेका कलाकारहरु सरू गुरूङ राना, विमला गुरूङ, ऋतु गुरूङ, कमला गुरूङ, प्रजु गुरूङ, सुजिता गुरूङ, ओसिअन राना, ओसिस राना, सुमी गुरूङ, जरिना गुरूङ, सुविना घले, अर्जुनकुमार गुरूङ, डेविड गुरूङ र गोरखा जिल्ला गुरूङ समाज युकेका कलाकारहरु दिवस गुरूङ, अरूप क्षेत्री, अभिशा गुरूङ, सुसान गुरूङसँगै नेपालबाट आउनुभएका अतिथि कलाकारहरु शेखर घर्तिमगर, शितल गुरूङ, विमला गुरूङ, हरिमाया गुरूङलगायतलाई खादा र कदरपत्रमार्फत सम्मान गरिएको थियो।

तमू समाज युकेकी अध्यक्ष विन्दुकुमारी गुरूङ घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटनमा भने नेपाल र वेलायतको राष्ट्रिय धुन बजाएको थियो। कार्यक्रमको औपचारिक खण्ड संस्थाका महासचिव शुभ घले र सांस्कृतिक खण्ड निरज गुरुङ र मिस्टी गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा बालबालिकाहरुका लागि ह्याप्पी ल्होसार/ल्होछार भन्दै आकर्षक गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको थियो। आगन्तुकहरु सबैलाई सेल्फी पोइन्टको व्यवस्था मिलाएको थियो। बालबालिकाको लागि किड्स् कर्नर राखेर चित्र कोर्ने, खेलौना खेलाउनेलगायतका कार्यक्रम गरिएको तमू समाज युकेका पूर्वअध्यक्ष शिवचन्द्र गुरुङले जानकारी दिए।