गुरुङ विशेष

तमू प्ये ल्हु संघ युकेद्वारा सप्री ल्होको भव्य स्वागत

लण्डन । तमू प्ये ल्हु संघ युकेले बिहान ९ बजेदेखि परम्परागतरुपमा धार्मिक पूजा अर्चना गरेर मुप्री ल्होको बिदाइ र सप्रील्होको स्वागत गरेर ल्होसार मनाएको छ। जगत र मानव भलाइ अर्थात् स्वस्ती, शान्ति तथा समृद्धिको लागि खेगी गुरु (पच्यु) र क्ल्हेप्रीद्वारा छ्योप, पार्क र थासोँ त्हेँ (पूजा) गरेर ल्होसार पर्व मनाइएको हो।

पूजापछि दर्शनार्थीहरुलाई प्हैरु लगाइदिएको थियो। तमू धीँ युके, तमू समाज युके, मगर संघ युके, ठकुरी समाज युके, एनआरएन युकेलगायत वेलायतमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरुको आतिथ्यतामा आयोजित कार्यक्रममा वेलायतका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि थिए।

वेलायत भ्रमणमा रहेका तमू धीँ नेपालका अध्यक्ष हुम तमू, तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला तमू तथा तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिका महासचिव पवित्रा प्हच्यु तमूकोसमेत कार्यक्रममा उपस्थिति थियो।

संघको अध्यक्ष क्या डेमबहादुर योज तमूको सभापतित्वमा भएको कार्यक्रममा खेकु र माङीको साङ्केतिक आधारमा ९ बाट काउनडाउन गरी मुप्रील्होको विदाइ तथा सप्री ल्होको स्वागतार्थ ल्होसार मार्किङ गरिएको थियो।

कार्यक्रममा तमू समाज युकेका अध्यक्ष विन्दु घले, तमू प्ये ल्हु संघ युकेका संस्थापक अध्यक्ष अशोक ल्हेँगे तमू, पूर्वअध्यक्षहरु जगत प्हच्यु तमू, सोम त्होर्जे तमू, मेजर खुसीमान ल्हेँगे तमू, रनबहादुर टु क्ल्हेप्री तमू, आमा समूहकी अध्यक्ष वविता प्हच्यु तमू, आमा समूहकी संस्थापक अध्यक्ष पार्वती पर्जु तमू, पूर्वअध्यक्ष विष्णु टु क्ल्हेप्री तमू, लम्जुङ समाज युके आमा समूहकी अध्यक्ष माला घले, प्रोपर्टी प्रोजेक्टका सम्वाददाता पिताम्बर ल्होँ तमूलगायतले ल्होसार मार्किङका लागि कन्फेटी पोप्पर पड्काएका थिए।

नेपालबाट साङ्गीतिक भ्रमणमा रहेका राष्ट्रिय कलाकारहरु राजबहादुर तमू, शितल तमू, आश्रम तमू, विमला तमू, तिलक तमूलगायतले गीतमार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए। साथमा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए।