काठमाडौँ । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि तमू ल्होसारलाई भव्यताका साथ मनाउने तयारी गरेको छ । हरेक वर्ष पुस १५ का दिन तमू ल्होसार मनाउँदै आइएकोमा यस वर्ष पनि सोही दिन काठमाडौँमा विविध कार्यक्रम आयोजना गरेर पर्व मनाउने तयारी भइरहेको तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् तमू ल्होसार मूल आयोजक समिति–२०८१ ले जनाएको छ।
यस वर्ष सप्री ल्होको उपलक्ष्यमा यही पुस १३, १४ र १५ गतेका दिन सरकार प्रमुखको प्रमुख आतिथ्यता, विशिष्ट पाहुनाहरुका साथै गुरुङ समुदायका अग्रज व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम आयोजना गर्न लागेको तमू ल्होसार मूल आयोजक समितिका संयोजक लोकबहादुर गुरूङले जानकारी दिनुभयो।
कार्यक्रम आयोजनाको लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौं उपत्यका प्रमुखको संयोजकत्वमा सचिवालय गठन गरी उक्त सचिवालयअन्तर्गत २२ वटा उपसमिति गठन गरी तयारी गरेको उहाँले बताउनुभयो।
तमू ह्युल छोँज धींले महोत्सवकै रूपमा आयोजना गर्दै आएको ल्होसार पर्व सम्पन्न गर्नको लागि जाउलाखेल ग्रुफ अफ इण्डष्ट्रिजले प्रायोजन गरेको छ। कार्यक्रममा करिब एक सयको सङ्ख्यामा व्यावसायिक एवम् प्रवर्द्वनात्मक कक्ष राखिने छन्।
महोत्सवकै रूपमा रहने तमू ल्होसारले काठमाडौंको आर्थिक अवस्थालाई थप चलायमान बनाउनेमा आयोजकले विश्वास लिएको छ। ‘तमू ल्होसारको अवधिमा मात्रै काठमाडौंमा करिब तीन करोडरूपैयाँ भन्दामाथिको कारोबार हुँदै आएको अनुभव छ,’ तमू ह्युल छोँज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रीय समितिका अध्यक्ष कर्णबहादुर गुरूङले भन्नुभयो।
यस वर्ष तमू समुदायले मुप्री ल्हो (गरूड वर्ग)को बिदाइसँगै सप्री ल्हो (नाग अर्थात् सर्प वर्ग)लाई स्वागत गरेर तमू ल्होसार पर्व मनाउने तयारी गरेको हो। तमू ह्युल छोँज धीं केन्द्रीय समितिका महासचिव रामबहादुर गुरूङका अनुसार ल्होसार पर्वको अवसरमा यसवर्ष लोक तथा दोहोरी गीत प्रतियोगिता, खुला रक्तदान, झाँकीसहितको ¥याली प्रदर्शन आन्तरिक संघसंस्था सांस्कृतिक नृत्य प्रतियोगितालगायतका कार्यक्रम हुनेछन्।
सार्वजनिक बिदा लागू गर्न अनुरोध
तमू समुदायको राष्ट्रिय पर्वमा सरकारबाट सार्वजनिक विदा घोषणा भए तापनि कतिपय शैक्षिक संस्थाहरुले आफ्ना कार्यलाई निरन्तरता दिइरहेको खबर आएको हुँदा सरकारले दिएको सार्वजनिक बिदा अबिलम्ब लागू गराउनसमेत तमू ह्युल छोँज धींले अनुरोध गरेको छ। ‘हाम्रो आग्रहलाई बेवास्था गरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् सम्बन्धित संस्थाले नै व्यहोर्नुपर्ने समेत अनुरोध गर्दछौं,’ ह्युल छोँज धींले भनेको छ।