कभर स्टोरी

तमू प्ये ल्हु संघ युकेले किन्यो नयाँ घर, क्होइवो र सामुदायिक भवन बनाउने योजना

लन्डन। सामुदायिक भवन तथा क्होँईबों निर्माण योजना अन्तर्गत तमू प्ये ल्हु संघ युकेले बेलायतमा नयाँ घर किनेको गरेको छ । संघले शुक्रबार नयाँ घरको चाबी बुझेको छ ।

नयाँ घरको चाबी बुझ्दै लामो समयको पर्खाइलाई अन्त्य गर्दै संस्थाले नयाँ घर किन्न सफल भएको तमू प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. (रि) डेमबहादुर गुरुङले जानकारी दिनुभएको छ ।

घर किन्न सफल भएकोमा खुशी व्यक्त गर्दै यस कार्यबाट आफुलाई सुकून मिलेको महसुस भएको उहाँले बताउनुभयो । ‘सम्पूर्ण सदस्यलगायत शुभचिन्तकको प्रतीक्षाको घडी पनि सकिएको छ। शुभचिन्तकहरुले दिनुभएको साथ सहयोग, सद्भाव र सहानुभूतिले यो काम सम्पन्न भएको हो। यहाँहरूको सहयोग र दानबिना यो कार्य सम्पन्न हुने थिएन,’ उहाँको भनाई छ।

चाबी बुझ्ने कार्यक्रममा अध्यक्षसहित संस्थापक अध्यक्ष अशोक ल्हेंगे, पूर्वअध्यक्ष जगत प्हच्यु तमू, सचिव भेग च्हाक्ली, कोषाध्यक्ष याम प्हच्यु, तृतिय उपाध्यक्ष डमर टु क्ल्हेप्री, सुवाससिंह लेम्, आमा समूह अध्यक्ष बबिता पहच्यु गुरुड्ग र पिताम्बर ल्होँ तमु लगायतको उपस्थिति रहेको थियो। खरिद गरीएको भवन, जग्गा र प्रसासनिक खर्च समेत गरी अनुमानित मुल्य ९ लाख पाउण्ड रहने सचिव भेग च्हाक्ली गुरुङले बताउनु भएको छ।

कार्यक्रममा उपस्थित भएर हौसला र सहानुभूति प्रकट गर्ने सबैलाई अध्यक्ष क्या. (रि) डेम बहादुर तमूले धन्यवाद दिनु भएको छ भने छिट्टै तमू परम्परा अनुसार घर पैँचोको लागि पूजा गर्न खेगी (पैंडी) लाई दिन हेराउन लगाएको समेत उहाँले बताउनु भयो।

पहिले स्थानीयस्तरमा विद्यालय सञ्चालनमा रहेको भवन तमु प्हे ल्हु संघले किनेको हो। भवन दुई तले रहेको छ। जहाँ ३ सय भन्दा बढी क्षमताको ठूलो हल र मिनी साइजको हलसहित खेल मैदान,बगैंचा र बाहिर तथा भित्र कारपार्क लगायत सुविधा रहेको तमू प्ये ल्हु संघले जनाएको छ।