प्रवास

दक्षिण कोरियामा ल्होसार मनाउँदै तमू धीं

  • बोम्जन गुरूङ  

कोरिया । दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले गुरूङहरुको मौलिक पर्व तथा नयाँ वर्ष ‘तमू ल्होसार–२०८१’ मनाउने तयारी गरेको छ। तमू धीं दक्षिण कोरियाले सउल क्षेत्रमा जनवरी ५ का दिन ल्होसार मनाउने तयारी गरेको हो।

विगतका वर्षजस्तै मौलिक पहिचान, भाषा, भेषभूषा, संस्कार, संस्कृति तथा परम्परालाई संरक्षण, सम्वर्द्वन र जगेर्ना गर्ने उद्धेश्यले तमू ल्होसार मनाउने तयारी भइरहेको संस्थाकी अध्यक्ष रूपा गुरूङले जानकारी दिइन्।

संस्थाको प्रारम्भिक चरणको बैठकले तमूहरुको वर्ग चक्रअनुसार सप्ह्री ल्हो (नागवर्ग)लाई स्वागत र मुप्री ल्हो गरूड वर्ग) लाई बिदाइ गर्दै दिवाभोजसहित शुभकामना आदानप्रदान गर्ने तयारी भएको छ।

साथै विविध सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाउनेसमेत तयारी भइरहेको अध्यक्ष गुरूङले बताइन्।

यसपटक पनि नेपालबाट चर्चित कलाकारहरुलाई आमन्त्रण गरी कार्यक्रमलाई भव्य बनाउने योजना रहेको आयोजकले जनाएको छ। साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने संस्थाका सांस्कृतिक विभागका संयोजक रामचन्द्र गुरुङले जानकारी दिए।

सुविधा सम्पन्न हलमा आयोजना हुने कार्यक्रममा तमू (गुरुङ) तथा नेपालीहरुको जमघटसँगै स्वादिष्ट नेपाली खानाको परिकारको व्यवस्था गरिने आयोजकले जनाएको छ।