- पूर्ण गुरुङ/बेलायत
नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल तमू धीं यूकेको नेतृत्व हरि गुरुङले सम्हाल्नुभएको छ। गत वर्षको ल्होछारपश्चात नेतृत्वमा पुग्नुभएका हरि गुरुङले तमूधीं यूकेलाई अझ परिस्कृत गर्दै अघि बढाउनुभएको छ।
दुई वर्षे कार्यकालका लागि कार्यसमितिको जिम्मेवारी सम्हाल्नुभएका हरि गुरुङले बेलायतमा तमू धीं यूकेको आयोजनामा हुने अत्यन्त लोकप्रिय गोरखा कप फुटवल प्रतियोगिता र नेपाली मेलालाई अझ ऐतिहासिक बनाउन सफल भएपछि नेपाली समुदाय बेलायतमा अध्यक्ष हरि गुरुङको नाम अझ चुलिएको हो।
हुन त हरि गुरुङ नेपाली समुदाय बेलायतमा नौलो नाम भने होइन। यसअघि तमू धीं यूकेको साधारण सदस्य, सचिव, महासचिव, सल्लाहकार र दुई कार्यकाल उपाध्यक्ष हुँदै अध्यक्षको यात्रा तय गर्नुभएको हो। उहाँको सरल स्वभाव, स्पष्ट बोली, कुशल नेतृत्व र क्षमताको कारणले तमूधीं यूकेको गरिमालाई अझ उच्च बनाएको छ।
करिब ५९ वर्षअघि स्व सुवेदार भीमबहादुर तथा लक्ष्मीको सन्तानको रुपमा पर्वत जिल्लाको फलेवास नगरपालिका–८, ठानामौलामा जन्मनुभएका उहाँले परोपकार मावि काठमाडौबाट एसएलसी, पृथ्वीनारायण क्याम्पस, पोखराबाट बिकमसम्मको अध्ययन गर्नुभएको छ।
अध्ययन गरिरहेकै अवस्थामा सन् १९८८ सालमा ब्रिटिश गोरखा सैनिकमा भर्ती हुनुभएका उहाँले १७ वर्ष सरकारी सेवा गर्नुभयो। सैनिक सेवाको क्रममा उहाँले देखाएको अदम्य साहस, बहादुरी र अतुलनीय योगदान गरेवापत दीर्घसेवा असल आचरण पदक, यूनाइटेड नेसनसेवा पदक, बोस्निया युद्ध पदक, स्वर्ण महोत्सव पदक, इराक युद्ध पदकबाट विभूषित हुनुभयो।
त्यसो त नेपाली समुदाय बेलायतमा सक्रिय संघसंस्थाहरू मध्येको एउटा संस्था हो, तमू धीं यूके। जसको सन् २००० सालमा स्थापना भएको हो। स्थापना कालदेखि नै तमू भाषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा विशेष भूमिका खेल्दै आएको छ।
त्यस्तै, गोरखा कप फुटबल प्रतियोगिता जहाँ १५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहन्छ भने नेपाली मेला जहाँ करिब १० हजार दर्शकको सहभागिता हुन्छ। सँगसँगै च्यारिटी कार्यक्रम, लाइफ मेम्बर डिनर नाइट, रेस फर लाइफलगायत थुप्रै परोपकारी कार्यहरूमा अग्रस्थानमा रहेको छ।
तमू धीं यूके तमूहरूबीच मात्र होइन, बेलायतमा सिंगो नेपाली समुदायबीच एक अग्रणी भूमिकामा रहेको संस्थाको रूपमा परिचित छ। जसले जातीय, सामाजिक तथा परोपकारी काममा पनि त्यतिकै उत्तरदायी भूमिका निभाउँदै आएको छ। सबैको चासो, विश्वास र आधार बनेको संस्थाको नेतृत्वमा हरि गुरुङजस्ता उर्जावान व्यक्तिको आगमनले विश्वभरका तमूहरूमा थप हौसला प्रदान गरेको छ।
सैनिक जीवन र अवकाशपश्चात पनि आफ्नो अध्ययन, सीप, तालिमलाई निरन्तरता दिँदै आउनुभएका उहाँले परिणामस्वरूप होटेल म्यानेजमेन्टमा डिप्लोमा, सेक्युरिटी सिस्टम्समा डिप्लोमा र सिटी एन्ड गिल्ड्सबाट मेकानिकल इन्जिनियरिङ एड्भान्ससम्मको अध्ययन गर्नुभयो।
हाल उहाँ रोयल स्कूल अफ मिलिटरी इन्जिनियरिङ कलेज, यूकेमा मेकानिकल इन्जिनियरिङको प्रशिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। तमू धीं यूकेको नेतृत्व सँगसँगै मेड्स्टोन नेपाली समाज यूकेको पूर्वअध्यक्ष तथा सल्लाहकार, गैरआवासीय नेपाली संघ यूके, सहारा यूके, चार भन्ज्याङ अन्तर्राष्ट्रिय समन्वय समिति, गुरुङ सोसाइटी केन्टको सल्लाहकारसमेत हुनुहुन्छ।
त्यस्तै, तमू धीं नेपाल, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) केन्ट, बुद्धिष्ट गुम्बा रेडिङ, बुद्धिष्ट सेन्टर लण्डन, डायमण्ड बुद्धिष्ट सेन्टर, यूके र थाउजन्ड बुद्धिष्ट सेन्टरको यूकेको ट्रष्टी पनि हुनुहुन्छ। अवकाशपश्चात स्थायीरूपमा बेलायतको मेड्स्टोन, केन्टमा श्रीमती सन्ध्या, एक छोरा र एक छोरीका साथ बस्दै आउनुभएका हरि फुर्सदको समयमा समाजसेवा, इतिहास अध्ययन, लेखन र भ्रमण आदिमा रुची राख्नुहुन्छ।
नोट : यो २०८० सालको तमू ल्होसारको अवसरमा प्रकाशित गुरुङ न्युज डटकममा प्रकाशित सामग्री हो।