गुरुङ विशेष

८२ वर्षीय सन्तबहादुर गुरुङलाई ब्याडमिन्टन संघ फेदीखोलाको सम्मान

स्याङ्जा । फेदीखोलास्थित शीरस्वाँराका ८२ वर्षीया सन्तबहादुर गुरुङ सम्मानित भएका छन्। खेलकुदमा असाध्यै रुचि राख्ने उनलाई ब्याडमिन्टन संघ फेदीखोलाले दुई दिने गाउँपालिकास्तिरीय वडाअध्यक्ष कपको उद्घाटनका क्रममा सम्मान गरिएको हो।

उनले फेदीखोलामा ब्याडमिन्टन खेल खेल्नमा युवाहरुलाई प्रोत्साहन गर्दै आएका छन्। उमेरले वृद्धावस्थामा आइपुगे पनि हरेक दिन ब्याडमिन्टन खेल खेल्दै आइरहेकोले थप हौसला प्रदान गर्नको लागि सम्मान गरिएको संघका अध्यक्ष जीवन गुरुङले जानकारी दिए।

फेदीखोला गाउँपालिका वडा नं १ का अध्यक्ष अमृत क्षेत्री र वडा नं २ का अध्यक्ष अविलाश गुरुङको उपस्थितिमा ट्रफी दिएर सम्मान गरिएको हो। फेदीखोला गाउँपालिका वडा न १ र २ को सयुक्त समन्वय, हिमशिखर क्लब फेदीखोलाको सहआयोजनामा खेल सुरु गरिएको हो।

ब्याडमिन्टन संघ फेदीखोलाले पहिलोपटक पालिकास्तिरीय वडाअध्यक्ष कप (मेन्स डबल) आयोजना गरेको हो। असोज २१ गते सोमबार सकिने खेलमा ८ टिम सहभागी छन्।

खेलको पहिलो दिन आइतबार लिग चरणका सबै खेल सकिएका छन्। सोमबार सेमिफाइनल र फाइनल खेल हुने छन्। प्रथम हुने समूहले नगद १० हजार, द्वितीय हुने समूहले नगद पाँच हजारसहित प्रमाणपत्र, मेडल र कप प्राप्त गर्नेछन्।

खेल सम्पन्न गर्नको लागि करिब दुई लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ। खेल सम्पन्न गर्नको लागि देश तथा विदेशमा रहेका नेपालीहरुबाट पनि सहयोग प्राप्त भएको आयोजक संस्थाका अध्यक्ष जीवन गुरूङले जानकारी दिए।