- लाला गुरुङ
लमजुङ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा वर्षभरी लागू हुने ऐन कानुन तथा नीतिनियम निर्माण तथा संशोधन गर्दै भदौ सभा सकिएको छ। क्व्होलासोथार गाउँपालिका वडा नं. ४ मा पर्ने भुजुङ गाउँमा हरेक वर्ष भदौ अन्तिम साता भदौ सभा अर्थात् भाद्र सभाको आयोजना गरिन्छ।
यो सभामा अघिल्लो वर्ष निर्माण गरिएका ऐन कानुन तथा नीतिनियमको छलफल र समीक्षा गर्दै चालू वर्षका लागि लागू गरिने ऐन कानुन तथा नीति नियम बनाइन्छ । यसवर्षको भदौ सभा भदौ २४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो।
यो सभामा हरेक घरका घरमुली साधारण सदस्य हुन्छन्। सभाको पहिलो दिन अघिल्लो वर्ष निर्माण गरिएका नीतिनियम तथा ऐन कानुनको समीक्षा गरिएको छ। दोस्रो र तेस्रो दिन गाउँका १० वटै टोलका घरमुलीले स्वतःस्फूर्त आफू र परिवारका तर्फबाट गतवर्ष लागू गरिएका ऐन कानुन तथा नीतिनियमको उल्लङ्घन गरेको अवस्थामा जरिवाना तिरेका छन्। उनीहरूले थप ऐन कानुन तथा नीतिनियम उल्लङ्घन नगरेको भन्दै खुकुरी र पाती राखेको तामाको ताउलो छोएर कसम खाएका छन्। यसलाई धर्म समात्ने भनिन्छ।
तेस्रो दिन चालू वर्षमा लागू गर्ने नयाँ नीतिनियम तथा ऐन कानुनका लागि हरेक टोललाई प्रस्ताव आह्वान गरिएको थियो। उक्त प्रस्तावमाथि छलफल गरी सभाको अन्तिम तथा चौथो दिन बाँकी छुटफुटले धर्म समात्दै चालू वर्षमा लागू गरिने प्रस्तावित ऐन कानुन तथा नीतिनियममाथि छलफलसहित निर्णय पारित गरेको छ।
सभाले ऐन कानुन तथा नीतिनियमको उल्लङ्घन, बारबन्देज तथा दैनिक उपभोग्य तथा खाद्यवस्तुको मूल्य निर्धारण गरेको छ। रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरूङका अनुसार सामाजिक, आर्थिक तथा सांस्कृतिक मूल्य मान्यतालाई एकरूपता ल्याउन, गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न हरेक वर्ष भदौ सभा गरिँदै आएको छ। अहिले भदौमा बनाएको कानुन अर्को वर्षको भदौसम्म हुने र हरेक वर्ष संशोधन तथा परिमार्जन गर्दै लगिने उनले बताए।
वर्षायाममा धान तथा कोदो रोपाइँ सकिएपछि केही फुर्सद हुने र फुर्सदको समयमा भदौ महिनामा सभा गरिने भएको हुँदा यसलाई भदौ सभा अर्थात् भाद्र सभा भन्ने गरिएको गाउँलेको भनाइ छ। समितिका सचिव दिलबहादुर गुरूङका अनुसार सभाले समाजमा चोरीडकैती गर्नेलाई जरिवाना गर्ने गरिन्छ। गतवर्षदेखि यसवर्षसम्म पाप नगरेको, वर्षभर आफू र आफ्नो परिवारले नीतिनियम तथा ऐन कानुन उल्लङ्घन नगरेको, कसैमाथि नराम्रो नसोंचेको, अधर्म नगरेको, नराम्रो काम नगरेको भनी खुकुरी र पाती राखिएको तामाको ताउलो छोएर कसम खान्छन्।
समितिका उपाध्यक्ष फटकबहादुर गुरूङका अनुसार यो सभामा वर्षभरी छिन्न नसकेका मुद्दाहरू समेत छिन्ने काम हुन्छ। उनले भदौ सभाले बनाएको कानुन गाउँभित्र लागू हुने र बाहिरी मानिस गाउँभित्र पस्नासाथसमेत लागू हुने बताए।
समितिका सल्लाहकार संयोजकसमेत रहेका वडाअध्यक्ष नारायण गुरूङले भाद्र सभा गाउँलेको नितान्त आन्तरिक मामिला भएको बताए। उनले परम्परागत मूल्य, मान्यता, संस्कार र चालचलनलाई मध्यनजर राखेर नेपाल सरकारले निर्माण गरेका नीतिनियम तथा कानुनसँग नबाझिने गरी वा सरकारी ऐन कानुनलाई सहयोग पुग्ने गरी गाउँलेको आन्तरिक कानुन निर्माण गर्न भदौ सभा आयोजना गरिँदै आएको बताए।
सभाले श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण, गाउँमा उत्पादित धान, मकै, कोदोलगायत खाद्यान्न बालीको मानापाथीको भाउलगायत निर्धारण गरेको छ। गाउँलेले आफैं कार्यविधि बनाएर निर्माण गरिएको रीतिथिति व्यवस्थापन समितिले भदौ सभाको आयोजना गर्ने गर्छ। यसमा हरेक टोलबाट टोल छनौट भएका प्रतिनिधि साथै मनोनित, आमा समूह, युवा क्लव तथा वडा सदस्यहरू पदेन रहने गरी २५ जना चुनिएर आएका हुन्छन्।
तिनै चुनिएर आएका प्रतिनिधिबाट अध्यक्षसहित पदाधिकारी र सदस्य निर्वाचित हुन्छ। यसमा पदेन सदस्य रहेका आमा समूह, युवा क्लवका प्रतिनिधि साथै वडा सदस्यहरू पदाधिकारीमा बस्न पाउँदैनन्।
हरेक ५ वर्षमा हुँदै आएको समितिको निर्वाचनमार्फत यसवर्ष पुनः अध्यक्षमा कालबहादुर गुरूङ, उपाध्यक्षमा फटकबहादुर गुरूङ र सचिवमा दिलबहादुर गुरूङ दोहोरिएका छन्। कोषाध्यक्षमा चारबहादुर गुरूङ, सहसचिव पित्रमान गुरूङसहित सदस्यहरू निर्वाचित भएका छन्। समितिको सल्लाहकार संयोजकमा वडाअध्यक्ष नारायण गुरूङ साथै सदस्यमा खिमबहादुर गुरूङ र बृजबहादुर गुरूङ चुनिएका छन्।