गुरुङ विशेष

प्रविधिमैत्री बन्यो तमू जातिको खेमा लिपि

१० सेप्टेम्बर २०२४ देखि युनिकोडमा

चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषदले गुरूङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको छ । यही १० सेप्टेम्बर २०२४ देखि खेमा लिपिको युनिकोड प्राप्त गरेको ह्युल छोंज धींले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

ह्युल छोंज धींले जनाएअनुसार २०५२ सालमा तत्कालीन अवस्थामा तमू छोंज धींको काठमाडौंमा भएको प्रथम सम्मेलन र तमू ह्युल छोंज धीं केन्द्रीय समितिको रूपन्देहीमा भएको केन्द्रीय पार्षद सभाबाट खेमा लिपिलाई गुरूङ जातिको आधिकारिक लिपिको रूपमा सर्वसम्मतरूपमा पारित गरेको थियो।

खेमा लिपिलाई कम्प्युटरको माध्यमबाट समेत लेख्न सहज हुने गरी युनिकोडमा प्राप्त गरेपछि तमू ह्युल छोंज धींको केन्द्रसहितका जिल्ला समितिहरूले खुसी व्यक्त गरेको छ। केन्द्रीय समितिका अध्यक्ष कर्णबहादुर गुरूङ र महासचिव डम्बरबहादुर गुरूङले विज्ञप्तिमार्फत खेमा लिपिलाई प्रविधिमैत्री बनाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका हुन्।

तमू ह्युल छोंज धीं जिल्ला कार्यसमिति चितवनले पनि देशभरका तमू समुदायको लागि एउटा महत्त्वपूर्ण सफलता प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेको छ। बिहीबार चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङको अध्यक्षतामा बसेको बैठकले लामो समयसम्मको प्रयास र सङ्घर्षपछि प्राप्त उपलब्धीले देशभरका गुरूङ जातिमा खुसी छाएको भन्दै खुसी व्यक्त गरेको हो।