ब्यानर

वरिष्ठ संस्कृतिकर्मी स्व. लोकबहादुर गुरुङको दसौं स्मृति दिवस

कास्की । पोखरामा वरिष्ठ संस्कृतिकर्मी स्व। लोकबहादुर गुरुङको दसौं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले बुधबार लोक सर स्मृति ग्रन्थको विमोचन र शिक्षण पेशामा क्रियाशील एक शिक्षकलाई सम्मान गर्दै उनको स्मृति दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अथितिसमेत रहेकी गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले स्मृतिग्रन्थको विमोचन र लमजुङको सिङ्दीस्थित हिमालय माविका शिक्षक युवराज गुरुङलाई नगद ५१ हजार रुपैयाँ, दोसल्ला, फेटा तथा सम्मानपत्र अर्पण गरिन् । लोकबहादुर चलचित्र निर्देशक निर्माता, गीतकार, संगीतकार तथा तमु संसार त्रैमासिक पत्रिकाका प्रधान सम्पादक थिए ।

प्रदेश सांसद गुरुङले स्वर्गीय लोकबहादुर गुरुङ बहुआयामिक व्यक्तित्व भएको स्मरण गरिन् । लोकबहादुर आफ्नो प्रेरणाको स्रोत भएको उल्लेख गर्दै सांसद गुरुङले उनको मार्गनिर्देशनलाई सधै शिरोपर गर्ने बताइन् । सम्मानित युवराज गुरुङले आफूले पाएको सम्मानले शिक्षण क्षेत्रमा थप काम गर्न हौसला मिलेको बताए । यस्तै प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) ले स्वर्गीय लोकबहादुरको गुणलाई शब्दले बयान गर्न नसकिने बताए । उनले गुरुङ समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्न स्व। लोकबहादुर गुरुङको योगदान महत्वपूर्ण रहेको बताउदै बिर्सन नहुने बताए । उनले प्रतिष्ठानको कोषमा हाल ४७ लाखभन्दा बढी रकम रहेकोसमेत जानकारी दिएका थिए ।

वरिष्ठ संस्कृतिकर्मी लोकबहादुरको १० वर्षअघि निधन भएको थियो । प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य श्यामको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी सदस्य गौरी तमुले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव रोशनी गुरुङले गरेकी थिइन् ।