गुरुङ विशेष

एटजोन उपाध्यक्ष खिमा गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) का उपाध्यक्ष खिमा गुरुङ ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१’ बाट पुरस्कृत भएकी छन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले आफ्नो रजत वर्षको अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहमा सञ्चारकर्मी खिमासहित ८ जना पुरस्कृत भएका हुन् । खिमालाई प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिज अध्यक्ष गजुरधन राईलगायतले प्रमाणपत्र, नगदसहित पुरस्कृत गरे । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

खिमा गुरुङ फोनिज गण्डकीको उपाध्यक्ष समेत हुन् । उनी पोखरास्थित गोर्खाली रेडियोकी सञ्चालक एवं स्टेशन म्यानेजर समेत हुन् ।

फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (अनलाईन) ईलाम, विष्णु तामाङ (छापा) काठमाडौं पुरस्कृत भए । उनीहरुले पनि नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।

यस वर्ष फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट भने विजयराज तुलाधर, पुष्पहरि क्याम्पा राई र लौव अग्रासन (थारु) पुरस्कृत भएका छन् ।

फोनिज मलेसिया सम्मान २०८१ बाट रेखीराम रानामगर र पुनम महतो चौधरीलाई पुरस्कृत गरिएको छ ।

फोनिजले आफ्नो स्थापना दिवस (साउन २७)मा हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत वर्ष समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।