ब्यानर

संयुक्त राष्ट्रसंघमा आदिवासीहरुले प्राप्त गर्ने अवसरबारे छलफल

काठमाडौं । संयुक्त राष्ट्र संघको स्वयंसेवी कोषमार्फतआदिवासी जनजातिहरुले के कस्ता अवसरहरु प्राप्त गर्न सक्छन् भन्ने सम्बन्धमा शनिबार छलफल सम्पन्न भएको छ ।

तमू इजुकेसन एण्ड करियर एड्भान्समेन्ट नेटवर्क टेकानेटले आयोजना गरेको उक्त छलफलका सहभागीहरुले कोषले उपलब्ध गराउने विभिन्न खाले फेलोसीप र ट्राभल्स ग्रान्टलाई सदुपयोग गर्दै आफ्नो समुदायको हितमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउन सकिने बताए ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तको कार्यालयले आयोजना गर्दै आएको आदिवासी फेलोसीपका २००८ का सहभागी खिम घलेले उक्त कार्यक्रमले आदिवासी जनजातिको क्षेत्रमा काम गर्नका लागि आफूलाई आधारभूत बुझाइ निर्माण गर्न सघाउ पुगेको बताए ।

फेलोसीप अन्तर्गत प्राप्त तालिमहरु एक्सपोजर तथा नेटवर्किङको अवसरले आदिवासी जनजातिको क्षेत्रमा काम गर्नका लागि सहज बनाउने उनको भनाई थियो ।

सुरुवाती समयमा छ महिना त्यसपछि चार र हाल एक महिनाको लागि रहेको उक्त फेलोसीपको सन् २०२५ को लागि आवेदन खुलेको उल्लेख गर्दै आवेदन दिन चाहनेहरुको लागि राष्ट्रसंघीय संयन्त्र र प्रणाली बारेमा सिक्न तथा यस क्षेत्रमा आफ्नो ज्ञानलाई बिस्तार गर्नका लागि फेलोसीप उपयुक्त रहेको बताए ।

कार्यक्रममा विशेष गरेर आपांगता भएका आदिवासी महिलाको सवाललाई लिएर अन्तर्राष्ट्रिय रुपमा वकालत गर्दै आएकी प्रतिमा गुरुङले समुदायको लागि काम गरिरहेकाहरूका लागि कोषले राष्ट्रसंघका विभिन्न संयन्त्रहरुमा सहभागी हुन ट्रभल्स ग्रान्ट उपलब्ध गराउने बताइन् । आफूले अहिलेसम्म १४ पटक उक्त ग्रान्ट लिएर विभिन्न फोरमहरुमा सहभागी भएको उल्लेख गर्दै आफ्नो काममा भने सधैँ गम्भिर हुनु पर्ने बताइन् । उनले आफूले काम राम्रो गर्न सकेमा कोष आफैले बोलाएर सहभागी गराउने बताइन् ।

त्यसैगरी आदिवासी युवा अभियन्ताहरु पेमा वाङ्मो, सवनम लामा र सवारानी महर्जनले पनि कोषको ट्राभल्स ग्रान्टमा विभिन्न राष्ट्र संघीय मञ्चहरुमा सहभागी हुँदाका आआफ्ना अनुभवहरु सुनाएका थिए ।

उनीहरुको एउटै भनाई थियो यस्ता राष्ट्रसंघीय मञ्चहरुमा सहभागी हुनुअघि त्यसका बारेमा जानकारी लिने अग्रजहरुसँग समन्वय गर्ने र फर्केपछि पनि आफूले सिकेका विषयमा आफ्नो समुदायका लागि काम गर्नु पर्दछ । कार्यक्रममा हालै मात्र कोषको ट्राभल्स ग्रान्ट पाएर आदिवासी अधिकार सम्बन्धी विज्ञ संयन्त्रको बैठकमा सहभागी भएकी गंगा गुरुङ र सन् २०१५ मा आदवासी जनजातिका लागि संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको बैठकमा सहभागी भएका अनिता गुरुङले पनि आआफ्नो अनुभव सुनाएका थिए ।

उनीहरुले अनुसार कोषको ट्राभल्स ग्रान्टले आदिवासी जनजातिहरुलाई यस्ता राष्ट्रसंघीय संयन्त्रहरुमा सहभागी हुन प्रोत्साहित गरेको उल्लेख गर्दै त्यस्ता संयन्त्रहरुमा दिइने मन्तव्यहरुको अर्थ रहने बताए ।

साथै यस्ता फोरमहरुमा जान चाहनेहरुले पहिले आफ्नो समुदायको लागि काम गर्नु पर्ने पनि सुझाए । कार्यक्रममा टेकानेटका अध्यक्ष डा हुम गुरुङले वक्ताहरुको अनुभव आदानप्रदानले धेरैलाई लाभान्वित बनाउने आफूले अपेक्षा राखेको बताए ।

उनले उमेरले काम गर्ने चाहना र प्राप्त गर्न सकिने अवसरलाई नछेक्ने उल्लेख गर्दै कोषले उपलब्ध गराउने फेलोसीप र ट्राभल्स ग्रान्ट महत्वपूर्ण रहेको बताए । साथै यस प्रकारको अवसरहरुलाई सदुपयोग गर्न सबै जना अग्रसर हुनुपर्ने बताए ।