ब्यानर

जिफानले पोखरामा किन्यो घडेरी, भवन पनि यही वर्षभित्र बन्ने

काठमाडौं । गुरुङ फिल्म एशोसिएशन नेपाल जिफानले भवन निर्माणका लागि जग्गा खरिद गरेको छ । पोखरा उपमहानगरपालिका वडा नम्बर १४ को चाउथे रातो डाँडा भन्ने स्थानमा जिफानले ६ आना २ दाम जग्गा खरिद गरेको हो ।

कुल ५० लाख रुपैयाँमा जग्गा खरिद गरिएको जिफानका कोषाध्यक्ष एवम् जग्गा खरिद तथा भवन निर्माण समितिका संयोजक अर्जुन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा खरिदबापतको रकम अन्तर्गत हाल २० लाख रुपैयाँ चुक्ता गरिसकिएको छ भने बाँकी रकम ३ महिना भित्र चुक्ता गर्ने सहमति भएको छ ।

विक्रम सम्वत २०७९ साल मंसिर २४ गते महासचिव लबसम गुरुङको संयोजकत्वमा सम्पन्न जिफान साँझबाट संकलित रकम र स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट बाँकी रकम चुक्ता गर्ने जिफानले लक्ष्य लिएको छ ।

WhatsApp Image 2024-06-06 at 7.31.58 PM (1).jpeg

जग्गा खरिद गर्ने पहिलो चरणको कामसँगै भवन निर्माणको योजना पनि जोडिएर आएको जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङले बताउनु भयो । हालका लागि तीनकोठे अस्थायी संरचना निर्माण गर्ने र यही वर्षभित्र पक्की भवन निर्माण सम्पन्न गर्ने उहाँले बताउनु भयो । भवन निर्माणका लागि युके, जापान, अष्ट्रेलिया, हङकङ, अमेरिकालगायतका विभिन्न मुलुकमा रहेका केही दाताहरुले आर्थिक सहयोगको बचन दिइसक्नु भएको उहाँले जानकारी दिनु भयो ।

जिफानको आफ्नै आन्तरिक श्रोत र स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट भवन निर्माण सम्पन्न गर्ने जिफानको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनु भयो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू अर्थात गुरुङ चलचित्रकर्मीहरुको साझा संगठनको रुपमा स्थापित गुरुङ फिल्म एशोसिएशन नेपाल जिफान २०६५ सालमा विधिवत रुपमा दर्ता भइ स्थापना भएको हो ।

गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्रहरु निर्माण गर्ने गतिविधिहरु भने विक्रम सम्वत २०५२ सालदेखि नै सुरु भएको हो । जिफानमा आवद्ध गुरुङ चलचित्रकर्मीहरुले हालसम्म १९० भन्दा बढी गुरुङ चलचित्रहरु निर्माण गरिसकेका छन ।