ब्यानर

दुई दिनमै पाँच केन्द्रमा तमू साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिव तथा जेहेन्दार विद्यार्थीलाई ‘छात्रवृत्ति वितरण’ कार्यक्रमका लागि पाँच केन्द्रमा सात जिल्लाका लागि छनौट परीक्षा सम्पन्न भएको छ ।

यही जेठ १५ गते, मंगलबार तनहुँ, लमजुङ र गोर्खामा तथा १९ गते, शनिबार चितवन र नवलपरासीमा परीक्षा संचालन गरिएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष एवम् यस परीक्षाका संयोजक श्रीजङ तमु, कोषाध्यक्ष श्याम तमु, सहकोषाध्यक्ष ओम तमु र विद्यार्थी समितिका कोषाध्यक्ष एलिना तमुले लमजुङ जिल्लाको छनौट परीक्षा संचालनार्थ खटिएका थिए । बेसीशहरमा अवस्थित तमु सङग्राहालयमा संचालित उक्त परीक्षाका लागि विद्यार्थी सहभागी गराउन तमु प्ये ल्हु संघ केन्द्रीय क्ल्हेप्री समितिका उपाध्यक्ष सन्तोष तमु र सन्चारकर्मी के.बीं तमुले समन्वयात्मक भूमिका निभाएका थिए भने परीक्षा संचालनका लागि तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद लम्जुङले तमु सङग्राहालयको सभाहल उपलब्ध गराएको थियो । परिषदका अध्यक्ष जीवराज घले एवम् सचीव गणेश तमुको विषेश उपस्थिति रहेको यस परीक्षामा १८ जना विद्यार्थीहरुको सहभागिता थियो ।

सोही दिन संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा निवर्तमान अध्यक्ष चिजकाजी तमु, सचीव कन्चन तमु, सदस्य मणिलाल तमु र कार्यालय सचीव गंगा तमुले तनहुँ जिल्लाको दमौली स्थित व्यास नगर तमु सुधार समितिको सभाहलमा १७ जना विद्यार्थीहरु बीच परीक्षा संचालन गरियो । यस जिल्लामा विद्यार्थी सहभागी गर्न पर्यटन व्यवसायी हरिसिंङ तमुले समन्वय गरेका थिए ।

अर्को एक टोली सह–सचीव भेषबहादुर तमुको नेतृत्वमा सदस्य द्वय लोकबहादुर तमु, लक्ष्मी तमु, तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समिती अध्यक्ष सुदिप तमु र उपाध्यक्ष जितेन तमुले गोर्खाको हरामटारी स्थित तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको सभाहलमा सोही दिन परीक्षा संचालन गरेका थिए । परिषद गोर्खाका अध्यक्ष रामबहादुर तमु लगायत कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको उक्त परीक्षाको समन्वय र व्यवस्थापन समेत परिषद गोर्खाले नै गरेको थियो । परीक्षामा  ३४ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

जेठ १९ गते, शनिबार प्रतिष्ठानका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक श्रीजङ तमुको नेतृत्वमा सह(सचीव भेष तमु, सह–कोषाध्यक्ष ओम तमु सहित विद्यार्थी समिती सचीव कविता तमु र सदस्य तारा तमुले चितवन भरतपुरमा र अर्को टोली द्वितीय उपाध्यक्ष डमर तमुको नेतृत्वमा सचीव कन्चन तमु, सदस्य लक्ष्मी तमु, विद्यार्थी सदस्य हसिला तमु र कार्यालय सचिव गंगा तमुले नवलपरासीको सुनवल स्थित भगवती माविमा छात्रवृत्ति छनौट परीक्षा सोही दिन एकै समयमा संचालन गरेका थिए । चितवन जिल्लाका लागि तमु प्ये ल्हु संघ चितवनले समन्वय र व्यवस्थापन गरेको थियो ।  ४१ जना तमु विद्यार्थीहरु सहभागी रहेको यस कार्यक्रममा तमु प्ये ल्हु संघ बागमती प्रदेश प्रमुख तुलराम तमु, चितवन जिल्ला अध्यक्ष विक्रम तमु लगायत कार्यसमिति सदस्यहरुले कार्यक्रम सफल गर्न अग्रणी भूमिका खेल्नुका साथै प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमुलाई फेटा र मालाले सम्मान गरेका थिए ।

प्रतिष्ठानका नवलपरासी संयोजक, आजिवन सदस्य एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य पुरन तमुले नवलपुर, नवलपरासी र रुपन्देहीका तमु विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउन सन्तुलित ढङ्गले समन्वय र व्यवस्थापन गरेर एकै स्थानमा केन्द्र बनाइएको उक्त कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सल्लाहकार एवम् प्रतिष्ठानका आजिवन सदस्य भिम तमुले मन्तव्य राखेका थिए । विभिन्न संङ्घ संस्थाका विभिन्न व्यक्तिहरु तथा विभिन्न विद्यालयका शिक्षकहरु एवम् अभिभावकहरुको उपस्थिति रहेको यस  नवलपरासीको सुनवल केन्द्रमा १७ जना तमु विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल विद्यार्थी छोंज धींका युवा तथा विद्यार्थीहरुले स्वयंसेवकको भूमिका निभाएर कार्यक्रममा सहयोग गरेका थिए ।

लिखित र मौखिक दुवै किसिमको मुल्यांकन गरिएको यस परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई यातायात खर्च पनि उपलब्ध गराइएको थियो । परीक्षाको नतिजा जतिसक्दो चाँडै प्रकाशन गरेर असार मसान्तभित्र नै छात्रवृत्ति वितरण गर्ने योजना रहेको कुरा अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।