गुरुङ विशेष

पहिरोको जोखिममा परेको चितवनको पुरानो गुरुङ गाउँ सराथोक जोगाउदै स्थानीय सरकार

सराथोक । चितवनको पुरानो गुरुङ गाउँहरु मध्य एक गाउँ हो सराथोक गाउँ । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं. ४ मा यो गाउँ पर्दछ । सयौ वर्ष पुरानो इतिहास बोकेको यो गुरुङ वि.सं. २०७२ सालको विनासकारी भुकम्पमा परी तहसनहस भएको थियो । भुकम्पमा परी तहसनहस भएको गाउँ विस्तारै पुनःनिर्माण गर्दै उठेको गाउँ त्यसपछि भने पहिरोको चपेटामा पर्न थाल्यो ।

गाउँको छेउबाट पहिरो जान थालेपछि गाउँ जोखिममा परेको पिडित स्थानीय छविलाल गुरुङले बताए । उनका अनुसार हरेक वर्ष बर्खा लाग्न थालेसँगै स्थानीयहरु डराई डराई बस्नुपर्ने बाध्यता रहेको छ ।

यता पहिरोका कारण गाउँ बस्ती नै जाखिममा परेपछि गाउँ छोडेर जाने गाउँलेहरु बढेको अर्का स्थानीय हरि गुरुङले बताए । उनले भने ‘कुनैबेला करिब ३०–३५ घर रहेको यो गाउँमा अहिले मुस्किलले २० घर मात्र छन् ।’

पहिरोका कारण पुरानो गुरुङ गाउँ जोखिममा परेपछि जोगाउनको लागि अहिले भने स्थानीय सरकारले पहल थालेको छ । स्थानीय सरकार इच्छाकामना गाउँपालिकाले पछिल्लो दुई आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट व्यवस्थापन गरि मेसिनरी वालको व्यवस्था गरि बस्ती संरक्षण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । उनका अनुसार स्थानीयको सक्रियता र गाउँपालिकाको आर्थिक व्यवस्थापना गाउँ जोगाउन सकिएको हो ।

यसैगरी सराथोक गाउँमा पछिल्लो समय हरेक घरमा खानेपानीको धारा जडान पनि गरिएको इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिए ।