ब्यानर

गुरुङ समुदायको फु ताँ सो दिवस र घाँटु नाँच बारे प्ये ल्हु संघ चितवनद्वारा अन्तरक्रिया

भरतपुर । गुरूङ जातिमा रहेका मौलिक एवम् परम्परागत संस्कार, संस्कृतिक ओझेलमा पर्दै गएको भन्दै यसको संरक्षणको लागि तमू प्ये ल्हु संघ चितवनले ‘फु ताँ सों’ दिवस र घाँटु नाचको विषयमा अन्तरक्रिया गरेको छ । भरतपुरमा भएको कार्यक्रममा मुख्य वक्ता ठाकुरजंग गुरूङले भाषा हराउँदै जाँदा त्यसको प्रभावमा संस्कार संस्कृतिसमेत हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

अहिलेको नयाँ पुस्ता पोशाकप्रति मात्रै केन्द्रित हुँदा गुरूङ जातिको मुख्य विषय नै ओझेलमा परेको उनको भनाइ छ । अर्का प्रमुख वक्ता जगतबहादुर गुरूङले गुरूङ जातिको उद्घम स्थल मानिएको क्होलासोंथर क्षेत्र विस्तापित भएसँगै गुरूङ जातिको हरेक कृयाकलाप सङ्कटपूर्ण बन्दै गएको बताए । पछिल्लो समय क्होलासोंथरको विषयमा केही कुरा बाहिर आए पनि आउनुपर्ने जति आइनसकेको हुँदा त्यसमाथि अझै खोजविन हुनुपर्ने उनको भनाइ छ ।

‘जब क्होलासोंथर विस्थापित भयो, त्यसपछि नै हाम्रा संस्कृतिहरू पनि ओझेलमा पर्दै गए । पारिए,’ उनले भने, ‘हिजो इतिहास लेख्नेहरू हाम्रो पहुँचका भएनन् । त्यसले पनि अर्को असर पारेको छ ।’ वक्ताहरूले घाँटु नाचको विषयमा पनि चर्चा गरेका थिए । वैशाख पूर्णिमाको छेकोमा नाचिने घाँटु नाचसमेत कतिपय स्थानमा लोप भइसकेको हुँदा यसको संरक्षण गर्न पनि नयाँ पुस्ताले चासो देखाउनुपर्ने उनीहरूको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष तुलाराम गुरूङले परम्परासँग सम्बन्धित संस्कृति जगेर्ना गर्ने विषयमा नयाँ पुस्ताले समेत चासो देखाउनुपर्ने बताए । ‘हामीले नयाँ पुस्तालाई सहभागी गराई आफ्नो भाषा र भाषाबाटै आएका साँस्कृतिक पक्षलाई केलाएर संरक्षण गर्ने अभियान चलाउनुपर्छ,’ उनले भने । तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले भाषा संस्कृति संरक्षणको लागि प्ये ल्हु संघले विगतदेखि नै प्रयास गर्दै आएको बताए ।

तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा तमू संस्कृतिविद् तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सल्लाहकार एवं प्ये ताँ ल्हु ताँ संयोजक ठाकुरजंग मोब्छै तमू र तमू प्ये ल्हु संघ केन्द्रीय सल्लाहकार एवं चितवन जिल्लाका पूर्व अध्यक्ष जगत बहादुर टु क्ल्हेप्री तमूले फु ताँ सों दिवस घाँटु नाच बारे सहजीकरण गरेका थिए ।

विभिन्न गुरुङ युवा, विद्यार्थी, महिला लगायत करिब ७० जना सहभागी अन्तरक्रिया कार्यक्रममा कार्यक्रम संचालनको भुमिका तमू प्ये ल्हु संघ चितवनका संगठन सचिव पूर्ण बहादुर केप्चे तमू रहेको थियो ।